देश

संसदलाई हेर्ने आँखा चार भएपछि : संसद जलाउने हातमै सत्ता, यस्तो पनि राजनीतिक नैतिकता !?

काठमाडौं । शहरको मुटुमा उभिएको संसद् भवन अझै पनि घाउ बोकेर उभिएको छ। सिसा फुटेका छन्, भित्तामा कालो धुवाँको दाग अझै मेटिएको छैन, र छेउछाउमा निर्माणका सामान थुप्रिएका छन्। तर यही अधुरो संरचनाभित्र चाँडै नयाँ सांसदहरू प्रवेश गर्नेछन्—कसैले शपथ खान, कसैले शासन चलाउन। विडम्बना यति मात्र होइन। यही भवनलाई कहिल्यै “जनताको घर” भनेर बचाउनुपर्ने हातहरू नै एकदिन क्रोधको भीडमा परेर त्यसैलाई आगोको मुखमा धकेलेका थिए। अहिले समय फेरिएको छ—भीडका ती हातहरू अब “माननीय” का रूपमा चिनिने भएका छन्।

संसद्—लोकतन्त्रको सबैभन्दा पवित्र संस्था। तर समाजले त्यसलाई हेर्ने आँखा भने चार फरक देखिन्छन्।

पहिलो आँखा ।
त्यो आँखा जनताको । संसदलाई आशाको घर ठान्छन्, जहाँ जनताको आवाज सुनिन्छ भन्ने विश्वास गर्छन्।

दोस्रो आँखा छ—राजनीतिज्ञको। त्यो आँखाले संसदलाई सत्ता चढ्ने भर्‍याङझैँ हेर्छ, जहाँ पुग्न जे गरे पनि हुन्छ भन्ने सोच बसिसकेको छ।

तेस्रो आँखा छ—क्रोधित भीडको। त्यो आँखाले संसदलाई व्यवस्था प्रतीक ठानेर कहिलेकाहीँ त्यसैलाई नष्ट गर्न खोज्छ।

र चौथो आँखा छ—इतिहासको। इतिहासले हेर्दा भने सबैभन्दा कटु सत्य देखिन्छ—संसद जलाउने हात र संसद चलाउने हात एउटै पनि हुन सक्छन् ?

भदौ २३ र २४ को आन्दोलनले यही प्रश्नलाई ज्वलन्त बनायो। नयाँ बानेश्वरको संसद् भवनमा आगजनी भयो। लोकतन्त्रको मन्दिर भनिने भवन आगोले चपेटामा पर्‍यो। धुवाँले आकाश ढाक्यो, र देशले अर्को चोटि संस्थाप्रतिको असहिष्णुता देख्यो। त्यतिबेला धेरैले सोचे—यो क्रोध व्यवस्था परिवर्तनका लागि हो। तर आज परिस्थिति उल्टो देखिन्छ। आन्दोलनको छायाँबाटै उठेका केही अनुहारहरू अब संसदको ढोका हुँदै भित्र पस्दैछन्।

सवाल यहींबाट सुरु हुन्छ— यदि संसद जलाउनु नै अन्तिम लक्ष्य थियो भने अहिले त्यही संसदबाट शासन किन ? यदि संसद नै भ्रष्ट संस्थाको प्रतीक थियो भने त्यसैको कुर्सी किन ? लोकतन्त्र केवल मतगणनाले मात्र जीवित रहँदैन। यसको आधार संस्थाप्रतिको सम्मान हो। तर जब संस्थालाई जलाउने संस्कृतिले नै राजनीतिक सफलता दिन थाल्छ, तब लोकतन्त्रको नैतिकता नै संकटमा पर्ने खतरा पनि त्यति नै हुन्छ ।

आज संसद् भवन अझै निर्माणाधीन छ। झ्यालका सिसा जडान हुन बाँकी छन्, पार्किङ क्षेत्र तयार छैन। प्राविधिकहरूले भन्छन्—अझै डेढ महिना लाग्छ। तर राजनीतिक हतारले त्यो समय पनि पर्खन सकेन। अधुरो भवनभित्रै संसद् बस्ने तयारी भइरहेको छ। यो दृश्य केवल निर्माणको अपूर्णता होइन, राजनीतिक संस्कारको पनि अपूर्णता हो। लोकतन्त्रको मन्दिर जलाएर त्यही मन्दिरमा पुजारी बन्ने आकांक्षा—यो विरोधाभासले नै आजको राजनीति चित्रित गर्छ। इतिहासले यस्ता क्षणहरू कहिल्यै बिर्सँदैन। किनकि इतिहासको आँखाले एउटा प्रश्न सधैं सोधिरहन्छ—संसद जलाउने हातले जब सत्ता सम्हाल्छ, त्यो परिवर्तन हो कि केवल भूमिकाको अदलाबदली ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *