काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा अब बन्ने नयाँ सरकारप्रति युवापुस्ताको चासो उल्लेख्य रूपमा बढेको छ। विशेषगरी ‘जेनजी’ पुस्ताका युवाहरूले आगामी सरकारबाट सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र प्रणालीगत सुधारको स्पष्ट अपेक्षा व्यक्त गरेका छन्। यस पटकको निर्वाचनमा संसद्मा नवयुवाको सहभागिता बढेपछि युवामैत्री नीति, डिजिटल सेवा विस्तार र पारदर्शी विकास प्रक्रियामा सरकारको ध्यान केन्द्रित हुने आशा युवा पुस्ताले गरेका छन्।
भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध भएको ‘जेनजी’ प्रदर्शनमा सहभागी भएर घाइते भएका २५ वर्षीय मदन कार्कीका अनुसार अब बन्ने सरकारले युवाको आवाज र मागलाई प्राथमिकतामा राख्नुपर्छ। उनी भन्छन्, “देशभित्र सुरक्षित र सम्मानजनक जीवनयापनको वातावरण बनोस्। सुशासन स्थापित होस् र भ्रष्टाचारको अन्त्य होस्। आन्दोलनका क्रममा भएका घटनामा दोषीलाई कारबाही पनि हुनुपर्छ।” उक्त आन्दोलनका क्रममा घाइते भएकी २० वर्षीया लिजा अधिकारी अझै उपचाररत छन्। अस्पतालको शैयाबाटै उनले नयाँ सरकारले युवाहरूले उठाएका मुद्दा—भ्रष्टाचार अन्त्य, पारदर्शिता र सुशासन—लाई व्यवहारमा लागू गर्ने अपेक्षा व्यक्त गरिन्। “देशभित्रै रोजगारी सिर्जना भए युवाहरू विदेशिन बाध्य हुँदैनन्,” उनले भनिन्।
रामेछापकी २२ वर्षीया सुजता कार्कीका अनुसार ‘जेनजी’ आन्दोलनपछि युवाहरूमा राजनीतिप्रतिको चासो उल्लेख्य रूपमा बढेको छ। उनले सरकारलाई युवामैत्री रोजगारीका अवसर, विशेष गरी ‘पार्टटाइम’ कामको व्यवस्था र विकट क्षेत्रको पूर्वाधार विकासलाई प्राथमिकता दिन सुझाव दिइन्। “पहिले राजनीतिमा खासै रुचि थिएन, तर अहिले देशको अवस्थाबारे सोच्न थालेकी छु। विदेश जानुपरे पनि कामका लागि होइन, घुम्नका लागि जाने अवस्था बन्नुपर्छ,” उनले भनिन्। दोलखाका २३ वर्षीय विशाल बुढाथोकीले गाउँ र सहरबीचको विकास असन्तुलन हटाउन सरकारको ध्यान जानुपर्ने बताए। “सहरमा विकास देखिन्छ, तर गाउँमा अझै धेरै काम गर्न बाँकी छ,” उनले भने। विदेशमा अध्ययनको योजना बनाएका उनले अध्ययनपछि स्वदेश फर्केर व्यवसाय गर्ने वातावरण बनोस् भन्ने अपेक्षा पनि व्यक्त गरे।
काठमाडौंका २७ वर्षीय विनय ढुङ्गानाले भने सरकारी सेवा प्रवाहलाई सहज बनाउन डिजिटल शासन प्रणाली आवश्यक रहेको बताए। “सामान्य सरकारी कामका लागि पनि भनसुन वा पैसा खर्च गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ,” उनले भने। यस्तै, दोलखाका २४ वर्षीय किरण बुढाथोकीले अबको सरकारले प्रणालीगत सुधारमा जोड दिएर पर्यटन, जलविद्युत् र कृषि क्षेत्रको सम्भावनालाई उपयोग गर्नुपर्ने धारणा राखे। “जनताले परिवर्तनका लागि मत दिएका छन्। अब घोषणापत्र कार्यान्वयन गरेर विकासलाई गति दिनुपर्छ,” उनले भने।
खोटाङकी १९ वर्षीया सलिना राईका अनुसार रोजगारीको अभावका कारण धेरै युवा विदेशिन बाध्य भएका छन्। “मेरो गाउँका धेरै युवा विदेशिएका छन्। स्वदेशमै रोजगारी सिर्जना गर्न सके युवाहरूको भविष्य यहीँ सुरक्षित हुनेछ,” उनले भनिन्। विश्लेषकहरूका अनुसार यस पटकको निर्वाचन परिणामले युवापुस्तामा परिवर्तनको आशा जगाएको छ। तर त्यो आशा पूरा गर्न सरकारलाई नीतिगत सुधार, पारदर्शी शासन र रोजगारी सिर्जनाका क्षेत्रमा ठोस कदम चाल्नुपर्ने चुनौती भने उत्तिकै ठूलो देखिन्छ।




