राजनीति

अप्रत्याशित चुनावी नतिजापछि कांग्रेसमा बहसः विशेष महाधिवेशन विवाद सर्वोच्चले चाँडो फैसला गरोस्ः सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणाम अप्रत्याशित आएको बताएका छन्। उनले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीले नयाँ ढंगले रणनीति तय गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सिटौलाले पुराना राजनीतिक दलहरूका लागि निर्वाचन परिणाम अपेक्षाभन्दा फरक देखिएको बताए। उनका अनुसार कांग्रेस, एमाले, कम्युनिस्ट तथा मधेस केन्द्रित दलहरूको स्थिति झण्डै उस्तै देखिए पनि नयाँ शक्तिको उदयले राजनीतिक समीकरणमा परिवर्तन ल्याएको छ।

उनले पार्टीभित्र निर्वाचन परिणामबारे विस्तृत छलफल हुन बाँकी रहेको भन्दै लोकतन्त्रमा विश्वास गर्ने कांग्रेस कार्यकर्ता र समर्थकलाई आत्तिनुपर्ने अवस्था नरहेको बताए। सिटौलाले अहिले विशेष महाधिवेशन आवश्यक नभएको धारणा व्यक्त गर्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दा छिट्टै टुंगो लगाइदिन आग्रह गरे। “सर्वोच्च अदालतले उक्त मुद्दालाई चाँडै टुंग्याइदिए राम्रो हुन्छ,” उनले भने।

यसैबीच कांग्रेसका सांसद जितजंग बस्नेतले भने पार्टीको कमजोर चुनावी प्रदर्शनको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताएका छन्। उनले विशेष महाधिवेशनको प्रक्रियाले पार्टीभित्र विभाजन ल्याएको दाबी गर्दै सभापति गगनकुमार थापाले नैतिक आधारमा राजीनामा दिनुपर्ने धारणा व्यक्त गरे।

बस्नेतका अनुसार पार्टीभित्र एकता कमजोर हुँदा निर्वाचनमा अपेक्षाकृत कमजोर परिणाम आएको हो। “विशेष महाधिवेशनका कारण पार्टीभित्र सेटिङको आरोप लाग्यो र त्यसकै असर निर्वाचन परिणाममा देखियो,” उनले भने।निर्वाचन परिणामपछि कांग्रेसभित्र नेतृत्व, रणनीति र संगठनात्मक सुधारका विषयमा बहस तीव्र हुँदै गएको देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *