काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग पत्र फिर्ता गर्न दायर रिटको पूर्ण सुनुवाइ सर्वोच्च अदालतले तय गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले सो रिट चैत १ गते पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो।
महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विचाराधीन सहकारी ठगी मुद्दा बाहेक अन्य दुई गम्भीर मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्। यस निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुन विद्यार्थी आयुष बडाल र युवराज पौडेलले रिट दायर गरेका थिए।
महान्यायाधिवक्ता भण्डारीको पुस ३० गतेको ७ पृष्ठ लामो ‘टिप्पणी र आदेश’ अनुसार, सहकारी ठगीमात्र मुद्दा चलाउन र अन्य मुद्दा हटाउन निर्देशन दिइएको थियो। कास्की र रुपन्देही जिल्लामा निवेदन पेश भए पनि सर्वोच्चमा विचाराधीन रहेकाले सुनुवाइ हुन सकेको छैन।




