देश

निर्वाचनको आत्मसमिक्षा गर्न कांग्रेस सभापति थापामाथि दबाब

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कमजोर नतिजा आएपछि नेपाली कांग्रेसभित्र नेतृत्वको जिम्मेवारी, रणनीति र संगठनात्मक कमजोरीबारे गम्भीर बहस सुरु भएको छ। विशेषगरी निर्वाचनको मुखमा विशेष महाधिवेशनमार्फत नेतृतव चुनेर निर्वाचनमा होमिएका पार्टी सभापति गगन थापामाथि चुनावी परिणामको आत्मसमीक्षा गर्न तथा नैतिक जिम्मेवारी लिनुपर्ने दबाब बढ्दै गएको छ।

विशेष महाधिवेशनमार्फत नेतृत्व सम्हाले लगत्तै पार्टीलाई निर्वाचनमा होमाएका थापा स्वयं पनि चुनावमा पराजित भएका थिए। पार्टीको सिट संख्या उल्लेख्य रूपमा घटेपछि कतिपय नेताहरूले सभापतिले नैतिक आधारमा राजीनामा दिनुपर्ने मत राखेका छन्। पार्टीभित्रका केही नेताहरूले भने थापालाई तत्काल पद त्याग्नुभन्दा चुनावी हारको गहिरो समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउन ध्यान दिन सुझाव दिएका छन्। उनीहरूका अनुसार महाधिवेशन भएको छोटो समयमै पार्टी निर्वाचनमा गएकाले रणनीतिक तयारी पर्याप्त हुन सकेन, जसको असर परिणाममा परेको हुनसक्छ।

निर्वाचन परिणामपछि थापाले उपसभापति विश्वप्रकाश शर्मासँग भेटवार्ता गरेका थिए। स्रोतका अनुसार भेटका क्रममा थापाले नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिन तयार रहेको संकेत गरेका थिए। तर शर्माले भने अहिले पद छाड्नेभन्दा पनि हारको समीक्षा गर्दै संगठनलाई सम्हाल्नु नै आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। पार्टीभित्र केही नेताहरूले थापालाई राजीनामा दिएर पुनः नियमित महाधिवेशनमा सभापतिका लागि प्रतिस्पर्धा गर्न सुझाव पनि दिएका छन्। यद्यपि यस विषयमा औपचारिक निर्णय भने भएको छैन।

यसैबीच कांग्रेसका निर्वतमान उपसभापतिले निर्वाचन परिणामलाई गम्भीर सन्देशका रूपमा लिनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले मतदाताको निर्णयलाई सम्मान गर्दै पार्टीले विगतका कमजोरीको इमानदार आत्मसमीक्षा गर्नुपर्ने बताएका हुन्। खड्काका अनुसार निर्वाचन परिणामले कांग्रेसका नेता–कार्यकर्तालाई गहिरो सन्देश दिएको छ। उनले मतदातालाई ‘भगवानरूपी परम आदरणीय’ भन्दै उनीहरूको निर्णयलाई शिरोधार्य गर्नुपर्ने र भावनात्मक प्रतिक्रिया भन्दा संयमित तथा जिम्मेवार ढंगले पार्टीलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

यस्तै कांग्रेस नेता चन्द्र भण्डारीले पनि अहिले राजीनामा दिनेभन्दा पार्टीलाई संकटबाट बाहिर निकाल्ने उपाय खोज्नुपर्ने बताएका छन्। उनका अनुसार संगठनलाई सुदृढ गर्दै छिटो महाधिवेशनतर्फ लैजाने र युवापुस्तासँगको सम्बन्ध बलियो बनाउनेतर्फ ध्यान दिनु आवश्यक छ। राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेसले सार्वजनिक रूपमा परिवर्तन र सुधारको सन्देश दिए पनि संगठनात्मक संरचना, रणनीति र मतदातासँगको सम्बन्धलाई पर्याप्त रूपमा बलियो बनाउन नसकेको देखिएको छ। नयाँ राजनीतिक शक्तिहरूको उदय र मतदाताको बदलिँदो मनोविज्ञानलाई सही रूपमा बुझ्न नसक्दा पनि परिणाम अपेक्षाभन्दा कमजोर आएको विश्लेषण गरिएको छ।

निर्वाचन परिणामपछि कांग्रेसभित्र देखिएको बहसले पार्टीलाई आत्मसमीक्षाको मोडमा पुर्‍याएको छ। अब नेतृत्वले मतदाताको सन्देशलाई कति गम्भीर रूपमा लिन्छ र संगठनात्मक सुधारका लागि कस्ता कदम चाल्छ भन्ने विषय नै आगामी राजनीतिक दिशाको मुख्य आधार बन्ने देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *