काठमाडौं । धनराज आचार्यले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न सुझाव दिएका छन्। पोखरा महानगरपालिकाका मेयर आचार्यले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै पुनलाई निर्वाचनमा उल्लेख्य मतसहित विजयी भएकोमा बधाई दिएका छन्। साथै उनले पुनले अघि बढाइरहेको नवप्रवर्तन तथा अनुसन्धान अभियानप्रति सम्मान व्यक्त गरेका छन्।
उनले पुनले अनुसन्धान र नवप्रवर्तनका लागि देशभर पुस्तक बिक्री गर्दै जनसमर्थन जुटाइरहेको प्रयास सराहनीय भएको उल्लेख गरे। तर आवश्यक दर्ता वा अनुमति बिना सार्वजनिक स्थानमा पुस्तक बिक्री–वितरण गर्दा कानुनी जटिलता उत्पन्न हुन सक्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन्।
मेयर आचार्यका अनुसार सडक किनारामा उभिएर पुस्तक बिक्री गर्दा यातायात व्यवस्थापनमा समस्या आउने तथा कहिलेकाहीँ विवाद पनि उत्पन्न हुने अवस्था देखिएको छ। यस्तो गतिविधि पुनजस्तो सार्वजनिक व्यक्तित्वका लागि उपयुक्त नहुने उनको भनाइ छ।
उनले देशभर झन्डै १८ हजार पुस्तक व्यवसायी दर्ता भएर पुस्तक बिक्री–वितरणमा संलग्न रहेको जानकारी दिँदै पुस्तक व्यवसायी महासंघमार्फत सहकार्य गरी उपयुक्त स्थान उपलब्ध गराएर पुस्तक बिक्रीलाई व्यवस्थित गर्न सकिने बताएका छन्।
यदि पुनले पोखरा भ्रमणको समय उपलब्ध गराएमा महासंघसँग समन्वय गरेर पुस्तक बिक्रीका लागि उपयुक्त स्थान व्यवस्था गर्न सकिने आचार्यले बताएका छन्। साथै हालसम्म बिक्री भएका पुस्तकहरूको विवरण सार्वजनिक गरे पारदर्शिता बढ्ने र करसम्बन्धी जिज्ञासासमेत सहज रूपमा समाधान हुने उनको भनाइ छ।




