अर्थ

पाँच वर्षे विकास ऋणपत्रमार्फत ६ अर्ब आन्तरिक ऋण संकलन गर्दै सरकार

काठमाडौं । सरकारले विकास ऋणपत्र जारी गरेर ६ अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गर्ने तयारी गरेको छ।

अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ‘विकास ऋणपत्र २०८७’ नाम दिइएको उक्त ऋणपत्र बोलकबोल प्रक्रियामार्फत जारी गरिनेछ। पाँच वर्ष अवधिको यस ऋणपत्रका लागि बोलकबोल फागुन २६ गते सञ्चालन हुनेछ भने निष्कासन फागुन २७ गते गर्ने तालिका तय गरिएको छ।

कार्यालयका अनुसार बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले समेत बोलकबोल प्रक्रियामा सहभागी हुन सक्नेछन्। जारी हुने ऋणपत्र धितोका रूपमा प्रयोग गरी कर्जा लिन र दिन पनि मिल्ने व्यवस्था गरिएको छ।

ऋणपत्रको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ। बोलवालाहरूले प्रस्ताव गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रमअनुसार राखेर बाँडफाँट गरिनेछ। सो क्रममा निर्धारण भएको एकल ब्याजदर तथा त्यसभन्दा कम दर प्रस्ताव गर्ने सबै बोलवालालाई सोही दरमा ऋणपत्र उपलब्ध गराइने कार्यालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *