काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विस्तृत प्रतिवेदन चैतको पहिलो साताभित्र राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक दुवै प्रणालीबाट निर्वाचित सांसदको विवरण समेटिएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी आयोगले अघि बढाएको हो।
प्रत्यक्षतर्फका सबै १६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ। हालसम्मको नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२५ सिट जित्दै सबैभन्दा ठूलो दल बनेको छ। त्यसैगरी नेपाली कांग्रेसले १८ सिट, नेकपा एमालेले ९ सिट, नेपाली कम्युनिस्ट पार्टीले ८ सिट, श्रम संस्कृति पार्टीले ३ सिट तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेका छन्। स्वतन्त्र उम्मेदवार महावीर पुन पनि निर्वाचित भएका छन्।
समानुपातिक प्रणालीतर्फको मतगणना भने अन्तिम चरणमा पुगेको छ। आयोगले मंगलबार साँझसम्म मतगणना सक्ने तयारी गरेको जनाएको छ। समानुपातिकतर्फ कुल १ करोड ७७ लाख ७११ मत खसेको थियो, जसमध्ये समाचार तयार पार्दासम्म करिब १ करोड साढे ५ लाख मत गणना भइसकेको आयोगले जनाएको छ। मतगणना सम्पन्न भएपछि आयोगले बुधबारदेखि राजनीतिक दलहरूलाई समानुपातिक प्रणालीअन्तर्गत आफ्नो भागमा परेका सांसदहरूको नामावली पठाउन पत्राचार गर्ने तयारी गरेको छ। कानुनअनुसार दलहरूलाई यस्तो सूची पठाउन तीन दिनको समय दिनुपर्ने व्यवस्था रहेकाले आयोगले फागुन ३० गतेसम्मको समय दिनेछ।
दलहरूले बुझाएको सूचीमा त्रुटि भए–नभएको तथा संविधान र कानुनअनुसारको समावेशी क्लस्टर मिलेको–नमिलेको आयोगले अध्ययन गर्नेछ। यदि कुनै त्रुटि देखिएमा सम्बन्धित दललाई सच्याउन थप दुई दिनको समय दिइनेछ। त्रुटिरहित सूची प्राप्त भएपछि आयोगले छिटोमा चैत ३ गते र ढिलोमा चैत ५ गतेसम्म समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने आन्तरिक कार्यतालिका बनाएको छ। त्यसपछि सम्पूर्ण प्रक्रिया पूरा गरी प्रतिनिधिसभा निर्वाचनसम्बन्धी अन्तिम प्रतिवेदन तयार पारेर राष्ट्रपतिसमक्ष पेस गरिनेछ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सबै प्रक्रिया पूरा भएपछि चैतको पहिलो साताभित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी भइरहेको छ।




