देश

रूपन्देही–२ बाट पौडेलको चुनावी खर्च करिब २८ लाख, सवारीसाधन र इन्धनमा सबैभन्दा बढी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्।

रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका पौडेलले मंगलबार आयोगमा पेस गरेको विवरणअनुसार चुनावी प्रचारप्रसारमा कुल २८ लाख ७ हजार १ सय रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। उक्त विवरणअनुसार सबैभन्दा बढी खर्च सवारीसाधन भाडा तथा इन्धन शीर्षकमा भएको छ। यस शीर्षकमा मात्र ८ लाख ९७ हजार २ सय ७५ रुपैयाँ खर्च गरिएको उल्लेख गरिएको छ।

त्यसैगरी छापा तथा विद्युतीय प्रचारप्रसारमा ८ लाख ३४ हजार रुपैयाँ, कार्यालय सञ्चालनमा २ लाख ६४ हजार रुपैयाँ, विविध खर्चमा २ लाख २२ हजार ३ सय २५ रुपैयाँ तथा छपाइमा १ लाख ९० हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ। यस्तै, एसएमएसमार्फत प्रचारप्रसारमा १ लाख ७५ हजार रुपैयाँ, मतदाता नामावली खरिदमा ९८ हजार रुपैयाँ, गोष्ठी तथा कार्यकर्ता परिचालनमा ५५ हजार रुपैयाँ, अन्तर्क्रिया कार्यक्रममा ४५ हजार रुपैयाँ र प्रतिनिधि परिचालनमा २६ हजार ५ सय रुपैयाँ खर्च गरिएको उल्लेख गरिएको छ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फका उम्मेदवारका लागि भौगोलिक अवस्था तथा पहुँचका आधारमा अधिकतम खर्च सीमा २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म तोकेको थियो। सोही अनुसार रूपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेदवारले अधिकतम २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको थियो। जिल्ला निर्वाचन कार्यालय रूपन्देहीले निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र सबै उम्मेदवारलाई आफ्नो चुनावी खर्च विवरण अनिवार्य रूपमा बुझाउन आग्रह गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *