काठमाडौं । राष्ट्रियसभाका १८ नवनिर्वाचित सदस्यहरूले पदभार सम्हालेका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरूलाई औपचारिक रूपमा शपथ गराएका हुन्। गत माघ ११ गते यी रिक्त सदस्य पदका लागि निर्वाचन सम्पन्न भएको थियो। निर्वाचन आयोगका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न प्रतिनिधिहरू निर्वाचित भएका हुन्।
निर्वाचित सदस्यहरूमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापा, मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर, बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल रहेका छन्।
गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका छन्।
कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही, सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खातीले पनि पदभार सम्हालेका छन्। यससँगै राष्ट्रियसभामा नयाँ सदस्यहरूले आगामी कार्यकालका लागि आफ्नो जिम्मेवारी सुरु गरेका छन् र संघीय संसद्मा प्रदेश प्रतिनिधित्व बलियो बनाउने अपेक्षा गरिएको छ।




