काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट विभिन्न क्षेत्रका व्यवसायीहरू पनि संसदमा प्रवेश गर्ने भएका छन्। हालसम्मको मतगणनाअनुसार करिब एक दर्जन व्यवसायी उम्मेदवारले प्रत्यक्षतर्फ विजय हासिल गर्दै संसदीय यात्रा सुरु गरेका छन्।
सोमबारसम्म सार्वजनिक परिणामअनुसार प्रत्यक्ष निर्वाचनबाट १० जना व्यवसायी निर्वाचित भएका छन्। निर्वाचनमा सहभागी भएका करिब तीन दर्जन व्यवसायी उम्मेदवारमध्ये हालसम्म ११ जनाले जित हात पारेका हुन्।
निर्वाचित व्यवसायीमध्ये अधिकांश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रहेका छन्। रास्वपाबाट मात्रै ६ जना व्यवसायी प्रतिनिधिसभामा पुगेका छन्। रास्वपाका तर्फबाट उद्योग वाणिज्य महासंघका महासचिव रुकेश रञ्जित भक्तपुर–२ बाट विजयी भएका छन्। त्यस्तै, सिन्धुपाल्चोक–१ बाट ऊर्जा व्यवसायी भरतप्रसाद पराजुली, बारा–३ बाट आईएमईमा लगानीकर्ता अरविन्द साह र उदयपुर–१ बाट व्यवसायी पारसमणि गेलाल निर्वाचित भएका छन्।
यसैगरी, स्याङ्जा–१ बाट पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका कृष्ण रिजाललाई पराजित गरेका हुन्। सर्लाही–१ बाट होटल व्यवसायी नितिमा भण्डारी कार्की पनि निर्वाचित भएकी छन्।
नेपाली कांग्रेसबाट चार जना व्यवसायी प्रतिनिधिसभामा पुगेका छन्। सोलुखुम्बु–१ बाट कुरियर तथा कार्गो व्यवसायी प्रकाशसिंह कार्की, रसुवा–१ बाट निर्माण व्यवसायी मोहन आचार्य, मुस्ताङ–१ बाट पर्यटन व्यवसायी योगेश गौचन तथा मनाङ–१ बाट पर्यटन व्यवसायी टेकबहादुर गुरुङ निर्वाचित भएका हुन्।
यस्तै, नेपाली कम्युनिष्ट पार्टीबाट डोल्पा–१ मा निर्माण व्यवसायी धनबहादुर बुढा विजयी भएका छन्। निर्वाचनमा विभिन्न दलबाट व्यवसायी उम्मेदवार उठे पनि सबैले सफलता पाउन सकेनन्। विशेषगरी नेकपा एमालेबाट उम्मेदवार बनेका धेरै व्यवसायी पराजित भएका छन् भने कांग्रेसका पनि केही व्यवसायी उम्मेदवारले जित हासिल गर्न सकेनन्।
यसैबीच गोरखा–१ बाट नेपाली कांग्रेसका उम्मेदवार तथा घरजग्गा व्यवसायी प्रेमकुमार खत्री चुनावी प्रतिस्पर्धामा रहेका छन्। उक्त क्षेत्रमा मतगणना जारी रहँदा हालसम्म उनी दोस्रो स्थानमा देखिएका छन्। यसपटकको निर्वाचन परिणामले व्यवसायिक क्षेत्रबाट पनि संसदमा प्रतिनिधित्व बढ्दै गएको संकेत गरेको छ।




