काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा काठमाडौं क्षेत्र नम्बर ६ का नवनिर्वाचित सांसद शिशिर खनालले सुशासन, रोजगारी सिर्जना र उद्यमशीलताको विकासलाई आफ्नो पार्टीको प्रमुख प्राथमिकताका रूपमा अघि बढाइने बताएका छन्।
तारकेश्वर नगरपालिका–९ मा आयोजित ‘टोलटोलमा सांसद’ कार्यक्रममा बोल्दै उनले जनताको अपेक्षा पूरा गर्न रास्वपा सुशासन स्थापना र रोजगारीका अवसर विस्तारमा केन्द्रित हुने बताए।
पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका खनालले स्थानीय तहमा आफ्नो पार्टीको सरकार नभए पनि स्थानीय सरकारसँग सहकार्य गरेर नागरिकका समस्या समाधानका लागि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
उनले काठमाडौं क्षेत्र नम्बर ६ मा विशेषगरी खानेपानी अभाव प्रमुख समस्या रहेकाले यसको दीर्घकालीन समाधान खोज्नु आफ्नो प्राथमिकतामा पर्ने उल्लेख गरे। साथै जनसरोकारका विषयहरू संसद्मा निरन्तर उठाउने उनले बताए।
सांसद खनालले आगामी पाँच वर्षभित्र देशमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षासहित नागरिकहरूले रास्वपालाई विश्वास गरेको उल्लेख गर्दै उक्त विश्वासलाई निराश नपार्ने प्रतिबद्धता जनाए। क्षेत्रका समस्या समाधानका लागि आफू निरन्तर जनतासँग संवाद र सम्पर्कमा रहने उनको भनाइ छ।




