काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम लगभग अन्तिम चरणमा पुग्दा यसपटक संसदमा युवाको उल्लेख्य उपस्थिति देखिने संकेत देखिएको छ। उपलब्ध परिणामअनुसार प्रत्यक्षतर्फ मात्रै ४० वर्षमुनिका ५४ जना उम्मेदवार विजयी भएका छन्। समानुपातिकतर्फबाट थप युवा प्रतिनिधि आउने सम्भावना पनि रहेको छ। यसपटकको निर्वाचनमा विशेषगरी युवा उम्मेदवारहरूको प्रभाव उल्लेखनीय देखिएको छ। प्रत्यक्षतर्फ विजयी भएका युवा सांसदमध्ये बहुसंख्यक राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का रहेका छन् भने अन्य दलबाट पनि केही युवा संसदमा पुगेका छन्।
रास्वपाका तर्फबाट काठमाडौंमा प्रधानमन्त्रीका उम्मेदवारका रूपमा चुनाव लडेका ३६ वर्षीय बालेन शाहले ठूलो मतान्तरसहित विजय हासिल गरेका छन्। उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै नयाँ राजनीतिक सन्देश दिएका छन्। त्यस्तै, चितवन–३ बाट ३० वर्षीया सोविता गौतम विजयी भइन्। उनले नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई पराजित गर्दै प्रतिनिधिसभामा प्रवेश गरेकी हुन्।
रुपन्देही–२ बाट २८ वर्षीय सुलभ खरेल विजयी हुँदा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पराजित भए। मोरङ–६ मा ३१ वर्षीया रुविना आचार्यले नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई हराउँदै ध्यान खिचेकी छन्।
यस्तै, रुपन्देही–१ बाट ३५ वर्षीय सुनिल लम्साल, काभ्रे–२ बाट ३३ वर्षीय बदनकुमार भण्डारी, नवलपुर–१ बाट ३९ वर्षीय राजन गौतम, दाङ–३ बाट ३८ वर्षीय कमल सुवेदी र दाङ–२ बाट ३९ वर्षीय विपिनकुमार आचार्य पनि विजयी भएका युवा उम्मेदवार हुन्।
ललितपुर–३ बाट ३६ वर्षीया तोसीमा कार्की पुनः निर्वाचित भएकी छन् भने सर्लाही–२ बाट ३८ वर्षीय रविन महतो विजयी भएका छन्। भक्तपुर–२ मा ३९ वर्षीय राजीव खत्रीले एमाले नेता महेश बस्नेतलाई हराएका छन्।
नवलपुर–२ बाट २६ वर्षीय मनीष खनाल, मकवानपुर–२ बाट २५ वर्षीय प्रशान्त उप्रेती र काठमाडौं–५ बाट २९ वर्षीय सस्मित पोखरेलजस्ता उम्मेदवारले पनि प्रभावशाली जित हासिल गरेका छन्। अन्य विभिन्न क्षेत्रबाट पनि रास्वपाका युवा उम्मेदवारहरू विजयी भएका छन्, जसले संसदमा नयाँ पुस्ताको बलियो उपस्थिति हुने संकेत दिएका छन्। अन्य दलतर्फ हेर्दा नेपाली कांग्रेसबाट रौतहट–२ का ३९ वर्षीय मो। फिरदोश आलम, पाल्पा–१ का ३८ वर्षीय सन्दीप राना र मुस्ताङ–१ का ३२ वर्षीय योगेश गौचन थकाली विजयी भएका छन्। नेकपा एमालेबाट इलाम–२ का ३६ वर्षीय सुहाङ नेम्वाङ र ताप्लेजुङ–१ का ३८ वर्षीय क्षितिज थेबे विजयी भएका छन्।
त्यस्तै, श्रम संस्कृति पार्टीबाट खोटाङ–१ का २९ वर्षीय आरेन राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जुम्ला–१ का ३४ वर्षीय ज्ञानबहादुर शाही पनि ४० वर्षमुनिका सांसदका रूपमा निर्वाचित भएका छन्। यसरी प्राप्त परिणामले यसपटकको प्रतिनिधिसभामा युवाको उल्लेख्य प्रवेश भएको देखाएको छ, जसले नेपालको संसदीय राजनीतिमा नयाँ पुस्ताको प्रभाव बढ्ने संकेत दिएको विश्लेषण गरिएको छ।




