काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको परिणामपछि नेकपा एमालेभित्र गम्भीर समीक्षा हुने संकेत देखिएको छ। गुल्मी–१ बाट पराजित एमाले नेता प्रदीप ज्ञवालीले चुनावी परिणामलाई पार्टीका लागि “गम्भीर झट्का” भएको बताएका छन्। बीबीसी नेपाली सेवासँगको अडियो संवादमा बोल्दै उनले देशभर आएको मत परिणामले पार्टीलाई आफ्ना नीति, कार्यशैली र संगठनात्मक संरचनाबारे पुनः सोच्न बाध्य बनाएको उल्लेख गरे।
उनका अनुसार एमालेले उठाउँदै आएका राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, सामाजिक सुरक्षा र लोकतन्त्रलाई जनताको जीवनसँग जोड्ने मुद्दाहरू अहिले पनि सान्दर्भिक रहेका छन्। तर ती मुद्दा अघि बढाउने पार्टी संरचना र काम गर्ने तरिकामा सुधार आवश्यक रहेको उनले स्वीकार गरेका छन्।
ज्ञवालीले निर्वाचनले पार्टीभित्र व्यापक परिवर्तन र सुधारको आवश्यकता देखाएको भन्दै नीति र शैलीमा आवश्यक परे परिवर्तन गरिने बताए।
नेतृत्व परिवर्तनको सम्भावनाबारे सोधिएको प्रश्नमा उनले एउटै घटनाले पार्टीको समग्र भविष्य निर्धारण नगर्ने उल्लेख गर्दै पनि वर्तमान परिणामलाई गम्भीर रूपमा लिनुपर्ने बताए। आवश्यकता परे नेतृत्वको भूमिकाबारे समीक्षा गरिने र विकल्पका विषयमा पनि छलफल हुन सक्ने उनले संकेत गरे। साथै उनले नयाँ संसदमा एमालेले जिम्मेवार, रचनात्मक र परिपक्व प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि बताए।




