देश

नयाँ पुरानाको भेद हटाई काँग्रेसको भविष्य थप उज्वल बनाउने रणनीतिमा सभाति थापाले महत्वपूर्ण भुमिका खेल्न आवश्यक

काठमाडौं । नेपाली राजनीतिको पछिल्लो आम निर्वाचन परिणामले सत्ता समीकरण मात्र होइन, दलहरूको आन्तरिक शक्ति सन्तुलन र भविष्यको दिशामाथि पनि गम्भीर बहस सुरु गराएको छ। विशेषगरी नेपाली काँग्रेसभित्र देखिएको पराजयको प्रभावले पार्टीको नेतृत्व, संगठन र विचारधाराबारे नयाँ प्रश्नहरू उठाइरहेको छ।  राजनीतिमा एउटा पुरानो भनाइ छ—“जीतमा दुश्मन पनि मित्र हुन्छन्, पराजयमा मित्र पनि शत्रु बन्न सक्छन्।” यही यथार्थ अहिले काँग्रेसको अवस्था र त्यसमा पनि गगन थापाको भूमिकामा स्पष्ट देखिन थालेको छ। निर्वाचन परिणामपछि उठेका आलोचना र दोषारोपणका आवाजहरू त्यसैको संकेत मानिन्छन्। विगतमा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले निर्वाचनको समय आएको भन्दै विशेष महाधिवशेन नगर्न हालका सभापति थापालाई बारम्बार आग्रह गरेका थिए । तर विशेष महाधिवेशनबाट निर्वाचनको मुखमा विभेद र पार्टीमा द्वन्द्व निकालेपछि पार्टी कम्जोर भएको निष्कर्ष निकालिएको छ । सोही विषयमा अहिले चर्चा छ ।

गगन थापा सहज रूपमा स्थापित नेतृत्वको उत्तराधिकारी बनेर आएका व्यक्ति होइनन्। पार्टीभित्र लामो समयदेखि जमेको असन्तोष र परिवर्तनको मागको पृष्ठभूमिमा उनले नेतृत्वको जिम्मेवारी सम्हालेका थिए। विशेष महाधिवेशनमार्फत सभापतिमा निर्वाचित हुँदा उनको उदयलाई काँग्रेसभित्र नयाँ पुस्ताको राजनीतिक उदयका रूपमा हेरिएको थियो। तर नेतृत्व सम्हालेको सुरुवातदेखि नै उनी सहज वातावरणमा थिएनन्। पार्टीभित्रको पुरानो शक्ति संरचनासँगको द्वन्द्व, संगठनात्मक विवाद र कानुनी चुनौतीका कारण उनको नेतृत्वलाई निरन्तर प्रश्नको घेरामा राख्ने प्रयास भएको देखियो। यसले नयाँ नेतृत्वले अघि सारेको परिवर्तनको भाष्यलाई कमजोर बनाउने काम गर्‍यो।

निर्वाचनको तयारीका क्रममा पार्टी एकताको सन्देश दिन गगन थापाले विभिन्न समूहका नेताहरूलाई उम्मेदवार बनाएका थिए। तर चुनावी नतिजाले अपेक्षित सफलता दिन सकेन। धेरै उम्मेदवारहरू पराजित भए भने पार्टीभित्रको निष्क्रियता र असहयोगको आरोपसमेत उठ्यो। यस्तो अवस्थामा आएको परिणामलाई केवल व्यक्तिगत असफलता भनेर बुझ्न सकिँदैन। विश्लेषकहरूका अनुसार यो पराजय नेपाली काँग्रेसले वर्षौंदेखि बोकेको राजनीतिक बोझ, गुटबन्दी र कमजोर संगठनात्मक संस्कृतिको परिणाम हो।

यस पटकको निर्वाचनले अर्को महत्वपूर्ण सन्देश पनि दिएको छ—नेपाली समाजमा परिवर्तनको चाहना बलियो हुँदै गएको छ। नयाँ राजनीतिक शक्तिहरूको उदय, पुराना दलहरूप्रति बढ्दो असन्तुष्टि र वैकल्पिक नेतृत्वप्रति देखिएको आकर्षण त्यसको स्पष्ट संकेत हो। जनताले लामो समयदेखि परम्परागत राजनीति, भ्रष्टाचार र सत्ता केन्द्रित व्यवहारबाट निराशा अनुभव गर्दै आएका थिए। त्यसैले मतदानमार्फत व्यक्त भएको परिवर्तनको आकांक्षालाई राजनीतिक दलहरूले गम्भीर रूपमा लिनुपर्ने आवश्यकता देखिएको छ।

लोकतान्त्रिक प्रणालीमा बलियो सरकार जति आवश्यक हुन्छ, त्यति नै महत्वपूर्ण हुन्छ सशक्त र जिम्मेवार प्रतिपक्ष। सत्ता बाहिर रहे पनि नीति, विचार र जनताको मुद्दालाई संसद्‌मा प्रभावकारी रूपमा उठाउने भूमिका प्रतिपक्षको मूल दायित्व हो। यही सन्दर्भमा गगन थापाको भूमिका अब झन् महत्वपूर्ण बनेको छ। पराजयपछि उनी केवल एउटा हारको प्रतीक बनेर बस्ने होइन, बरु विचार र नीति आधारित प्रतिपक्षको नेतृत्व गर्ने व्यक्तिका रूपमा अघि बढ्नुपर्ने अपेक्षा गरिएको छ।

नेपाली काँग्रेसका लागि अहिलेको चुनौती केवल संगठन विस्तार होइन। पार्टीको चरित्र, नेतृत्व शैली, नीति निर्माण र जनतासँगको सम्बन्ध पुनःनिर्माण गर्नु अब अपरिहार्य देखिएको छ। विशेषज्ञहरूका अनुसार काँग्रेसले पुरानै राजनीतिक चक्रमा फर्केर भविष्य निर्माण गर्न सक्दैन। नयाँ पुस्ताको नेतृत्व, स्पष्ट नीति र जनताको आकांक्षासँग मेल खाने राजनीतिक दृष्टिकोण विकास गर्न सके मात्र पार्टीले आफ्नो विश्वास पुनःस्थापित गर्न सक्छ। सभापति थापाले पार्टीभित्रको नयाँ र पुरानाको भेदलाई हटाउन आवश्यक मानिन्छ ।

अहिलेको राजनीतिक अवस्था काँग्रेसका लागि संकट मात्र होइन, अवसर पनि हुन सक्छ। यदि नेतृत्वले जनताको सन्देशलाई गम्भीर रूपमा बुझेर आत्मसमीक्षा गर्‍यो भने यो पराजय पुनर्जागरणको सुरुवात बन्न सक्छ। तर यदि परिवर्तनको संकेतलाई बेवास्ता गरियो भने इतिहासले यसलाई नेपाली काँग्रेसले गुमाएको एउटा महत्वपूर्ण अवसरका रूपमा सम्झिनेछ। अहिलेको सबैभन्दा ठूलो प्रश्न यही हो—के नयाँ नेतृत्वले जनताको सन्देश बुझेर पार्टीलाई नयाँ दिशामा लैजान सक्छ ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *