काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ अझै २२ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ।
निर्वाचन आयोगका अनुसार हालसम्म १४३ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ भने बाँकी क्षेत्रको मतगणना जारी रहेको छ।
पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ११२स्थानमा विजय हासिल गरेको छ भने १२क्षेत्रमा अग्रता कायम गरेको छ। नेपाली काँग्रेसले १८ स्थानमा जित निकालेको छ र एक क्षेत्रमा अग्रता बनाएको छ।
त्यस्तै नेकपा (एमाले)ले ७ स्थानमा विजय हासिल गरेको छ भने दुई क्षेत्रमा अग्रता कायम गरेको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ६ स्थानमा जित हासिल गर्दै एक क्षेत्रमा अग्रता लिइरहेको छ।
यस्तै श्रम संस्कृति पार्टीले एक स्थानमा विजय हासिल गरेको छ भने दुई क्षेत्रमा अग्रस्थानमा रहेको छ। साथै राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र उम्मेदवारले पनि एक–एक स्थानमा विजय हासिल गरेका छन्।
उता समानुपातिकतर्फ हालसम्म २९ लाख १० हजार ६ सय ७७ मत गणना भइसकेको छ। जसअनुसार रास्वपाले १४ लाख ६१ हजार ३ सय ८१ मत प्राप्त गरेको छ। नेपाली काँग्रेसले ४ लाख ९४ हजार २ सय ५१ तथा नेकपा (एमाले)ले ४ लाख ३ हजार ८ सय ९९ मत प्राप्त गरेका छन्।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीले १ लाख ९३ हजार ५ सय ५०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ६ हजार ३ सय ९६ तथा श्रम संस्कृति पार्टीले ५९ हजार २ सय ४१ मत प्राप्त गरेका छन्।
त्यस्तै जसपा नेपालले २७ हजार ३ सय ४, जनमत पार्टीले १४ हजार २ सय ५० तथा नेकपाले १२ हजार ९ सय ८३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
समानुपातिकतर्फको मतगणना अझै जारी रहेको आयोगले जनाएको छ।




