देश

प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय सफलता हासिल गरेको छ । हालसम्म सार्वजनिक भएको परिणामअनुसार रास्वपाका १०४ उम्मेदवार विजयी भएका छन् ।

आज बिहान १०:५० बजेसम्मको विवरणअनुसार रास्वपा २१ निर्वाचन क्षेत्रमा अग्रस्थानमा रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म १३२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

यसैबीच नेपाली काँग्रेसले १४ क्षेत्रमा जित हासिल गरेको छ भने थप तीन स्थानमा अग्रता कायम गरेको छ । नेकपा (एमाले)ले सात क्षेत्रमा जित निकाल्दा तीन स्थानमा अगाडि रहेको छ ।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका चार उम्मेदवार विजयी भएका छन् भने तीन क्षेत्रमा अग्रता लिएका छन् । श्रम संस्कृति पार्टीका एक उम्मेदवार विजयी भएका छन् भने दुई क्षेत्रमा अग्रस्थानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र उम्मेदवारले पनि एक–एक स्थानमा जित हासिल गरेका छन् ।

समानुपातिकतर्फ मतगणना

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको समानुपातिक निर्वाचनतर्फ हालसम्म २७ लाख ६१ हजार ४२१ मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार रास्वपाले १३ लाख ८८ हजार ४२१ मत प्राप्त गर्दै अग्रस्थानमा रहेको छ । नेपाली काँग्रेसले चार लाख ७१ हजार ३५५ मत पाएको छ भने नेकपा (एमाले)ले तीन लाख ८० हजार ९३२ मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले एक लाख ८२ हजार ८३४ मत हासिल गरेको आयोगले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *