पोखरा । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट हालसम्म गण्डकी प्रदेशमा १२ सिट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरक्षित गरिसकेको छ। गणना भइरहेका बाँकी तीन सिटमा पनि रास्वपाका उम्मेदवारले अग्रता लिइरहेका छन्। दुई सिटमा नेपाली कांग्रेस विजयी हुँदा नेकपा एमाले भने यसपटक शून्य भएको छ।
रास्वपाले कास्कीका तीन सिट, तनहुँका दुई सिट, बागलुङका दुई सिट, नवलपुरका दुई सिट तथा पर्वत, लमजुङ र स्याङ्जा–१ मा एक–एक सिट जितेको हो। म्याग्दीमा भने रास्वपाको समर्थनमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्। हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने कांग्रेस विजयी भएको छ।
कास्की–१ मा खडकराज पौडेल, कास्की–२ मा उत्तम पौडेल र कास्की–३ मा विनाकुमारी गुरुङ विजयी भएका छन्। लमजुङमा धर्मराज केसी विजयी भएका छन्। तनहुँ–१ मा डा. स्वर्णिम वाग्ले र तनहुँ–२ मा श्रीराम न्यौपाने विजयी भएका छन्। बागलुङमा सुशील खड्का र सोम शर्मा विजयी भए भने पर्वतमा सागर भुसाल विजयी भएका छन्। स्याङ्जा–१ मा डा. धनञ्जय रेग्मी विजयी भएका छन्। नवलपुर–१ मा राजन गौतम र नवलपुर–२ मा मनिष खनाल विजयी भएका छन्।
मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ र मुस्ताङमा योगेश गौचन विजयी भएका छन्। गोरखाका दुवै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार अग्रतामा छन्। गोरखा–१ मा सुधन गुरुङ र गोरखा–२ मा कविन्द्र बुर्लाकोटी अग्रतामा छन्। स्याङ्जा–२ मा पनि रास्वपाका झविलाल डुम्रे अग्रतामा रहेका छन्।




