काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको हालसम्मको मतगणनामा पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन्।
निर्वाचन आयोगका अनुसार, काठमाडौँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भइन्। मोरङ–६ मा रास्वपाकी रुविना आर्चायले ५५ हजार ५१३ मत प्राप्त गरेकी छन्। कास्की–३ मा रास्वपाकी बिना गुरुङ ३७ हजार ७५० मतसहित विजयी भइन् भने कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली १७ हजार ८२६ मतसहित विजयी भइन्।
दैलेख–१ मा नेपाली कांग्रेसकी बासना थापाले १२ हजार ३७२ मत प्राप्त गरी विजयी भएकी छिन्।
जारी मतगणनामा रास्वपाकी सोविका गौतम (चितवन–३), डा. तोसिमा कार्की (ललितपुर–३), इन्दिरा थापामगर (झापा–२०), निशा डाँगी (झापा–१०), नीतिमा भण्डारी (सर्लाही–१०), आशिका तामाङ (धादिङ–१०), पुष्पाकुमारी चौधरी (सप्तरी–१०) र गौरी कुमारी (महोत्तरी–४) अग्रस्थानमा छन्।
निर्वाचन आयोगका अनुसार हालसम्म ४५ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ। प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत कुल १६५ निर्वाचन क्षेत्रमध्ये हाल ११८ स्थानमा मतगणना जारी छ।




