काठमाडौं । जेनजी आन्दोलनपछि बनेको अस्थिर राजनीतिक वातावरणबीच सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर नेपालले अन्तर्राष्ट्रिय समुदायबाट सकारात्मक प्रतिक्रिया पाएको छ। विशेषगरी छिमेकी मुलुक भारत र चीनले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा बधाई व्यक्त गर्दै लोकतान्त्रिक प्रक्रियाको निरन्तरतालाई स्वागत गरेका छन्।
चीनले संघीय संसदको प्रतिनिधिसभा निर्वाचन निर्धारित समयमै शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएकोमा खुशी व्यक्त गरेको छ। बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले नेपालले लोकतान्त्रिक अभ्यासलाई सफलतापूर्वक अघि बढाएको भन्दै बधाई दिइन्। उनले चीनले नेपालसँगको परम्परागत मित्रता र सहकार्यलाई सदैव महत्व दिएको उल्लेख गर्दै दुई देशबीच विकास, समृद्धि र स्थायित्वका लागि दीर्घकालीन रणनीतिक सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
निर्वाचन आयोगले देशभर शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको र करिब ५७ प्रतिशत मत खसेको जानकारी दिएपछि चीनले औपचारिक रूपमा प्रतिक्रिया दिएको हो। निर्वाचन व्यवस्थापनमा सहयोगस्वरूप चीनले नेपाललाई ४० लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोग पनि प्रदान गरेको थियो।
यता भारतले पनि नेपालमा सफलतापूर्वक सम्पन्न निर्वाचनलाई स्वागत गर्दै नयाँ सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। भारतीय विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा नेपालका प्रधानमन्त्री सुशीला कार्की र मतदानमा सहभागी मतदातालाई बधाई दिँदै नेपालको शान्ति, प्रगति र स्थायित्वप्रति भारतको समर्थन निरन्तर रहने उल्लेख गरिएको छ। भारतले दुई देश र जनताबीच रहेको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन आगामी दिनमा नयाँ सरकारसँग मिलेर काम गर्न तत्पर रहेको स्पष्ट पारेको छ।
यस निर्वाचनलाई जेनजी आन्दोलनपछिको राजनीतिक मोडका रूपमा पनि हेरिएको छ। गत भदौ २३ र २४ गते भएको उक्त आन्दोलनका क्रममा देशभर हिंसात्मक घटना, सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनीका घटना भएका थिए। त्यस क्रममा सुरक्षाकर्मी र राजनीतिक नेतृत्वमाथि आक्रमणसमेत भएको थियो भने ७६ जनाको ज्यान गएको र करिब ८४ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको बताइएको छ। त्यसपछिको अस्थिर परिस्थितिमा पनि सरकार र सुरक्षा निकायले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको विश्लेषण गरिएको छ। विशेषगरी युवाको सक्रिय सहभागिता र प्रतिनिधित्वप्रतिको चासोले यस निर्वाचनलाई नयाँ राजनीतिक संकेत दिने घटनाका रूपमा हेरिएको छ।
विश्लेषकहरूका अनुसार जेनजी आन्दोलनपछि बनेको राजनीतिक चेतना, युवाको बढ्दो सक्रियता र लोकतान्त्रिक प्रक्रियाप्रतिको विश्वासले नेपालमा नयाँ राजनीतिक बहसको सुरुवात गराएको छ। आगामी दिनमा नयाँ सरकार गठनपछि देशको स्थिरता, सुशासन र आर्थिक पुनर्निर्माणमा कसरी काम हुन्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।




