काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना पनि सुरु भएको छ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार काठमाडौँ क्षेत्र नम्बर १ बाट समानुपातिक मतगणना थालिएको हो।
हालसम्म समानुपातिकतर्फ १९ हजार ७२८ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा देखिएको छ। रास्वपाले ११ हजार ५६२ मत प्राप्त गरेको छ।
यस्तै नेपाली कांग्रेसले ३ हजार ६६४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ७५२, नेकपा (एमाले)ले १ हजार १५२ मत प्राप्त गरेका छन्। श्रम संस्कृति पार्टीले ४४१ र नेपाली कम्युनिष्ट पार्टीले ३९२ मत प्राप्त गरेका छन्।
त्यसैगरी राष्ट्रिय परिवर्तन पार्टीले २७३ मत पाएको छ भने अन्य विभिन्न दलले १०० भन्दा कम मत प्राप्त गरेका छन्।
समानुपातिकतर्फको मतगणना क्रमशः अन्य स्थानमा पनि सुरु हुने निर्वाचन आयोगले जनाएको छ।




