देश

मतगणनाको प्रारम्भिक परिणाम : रास्वपाको बलियो उपस्थिति, पुराना दलबीच प्रतिस्पर्धा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी रहँदा प्रारम्भिक परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले उल्लेखनीय अग्रता लिएको देखिएको छ। हालसम्म रास्वपा र नेपाली कांग्रेसले एक–एक सिटमा जित सुनिश्चित गरिसकेका छन्। काठमाडौं क्षेत्र नम्बर १ बाट रञ्जु दर्शना निर्वाचित भएकी छन् भने मुस्ताङबाट कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन्।

निर्वाचन आयोगबाट प्राप्त पछिल्लो विवरणअनुसार गणना जारी रहेका अधिकांश क्षेत्रमा रास्वपाले बलियो उपस्थिति देखाउँदै १०१ स्थानमा अग्रता कायम गरेको छ। त्यस्तै नेपाली कांग्रेसका १२, नेकपा (एमाले) का ११ र नेपाली कम्युनिस्ट पार्टीका ९ उम्मेदवार विभिन्न क्षेत्रमा अघि रहेका छन्। अघिल्लो विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल, एमाले दोस्रो र नेकपा तेस्रो स्थानमा थिए भने रास्वपा चौथो शक्तिका रूपमा रहेको थियो। तर यसपटक प्रारम्भिक मतगणनाले नयाँ राजनीतिक समीकरणको संकेत देखाएको विश्लेषण गरिएको छ।

यसबीच कांग्रेसका उदयशमशेर जबरा (ललितपुर–१), अभिषेकप्रताप शाह (कपिलवस्तु–३), डा। गोविन्दराज पोखरेल (प्युठान–१), विष्णुबहादुर खड्का )सुर्खेत–१) लगायतका उम्मेदवार अग्रस्थानमा छन्।

त्यस्तै एमालेका मोहम्मद इश्तियाक राई (बाँके–२), प्रमोदकुमार यादव (रूपन्देही–४), भानुभक्त ढकाल (तेहथुम–१), तिलबहादुर महत क्षेत्री (नवलपुर–२)लगायतका उम्मेदवारले अग्रता कायम गरेका छन्। नेकपातर्फ रुकुम पूर्व–१ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, कालीकोट–१ बाट महेन्द्रबहादुर शाही, रोल्पा–१ बाट वर्षमान पुन, काभ्रे–१ बाट दीननाथ गौतम लगायतका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *