देश

झापाका पाँचै क्षेत्रमा रास्वपाको अग्रता कायम

सुरुङ्गा (झापा)। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता कायम राखेका छन्।

पछिल्लो मतपरिणामअनुसार झापा–१ मा रास्वपाकी निशा डाँगी, झापा–२ मा इन्दिरा राना मगर, झापा–३ मा प्रकाश पाठक, झापा–४ मा शम्भुप्रसाद ढकाल र झापा–५ मा बालेन्द्र शाह अग्रस्थानमा छन्।

झापा–५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाहले हालसम्म ६ हजार ५५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का केपी शर्मा ओलीले १ हजार ४२८ मत प्राप्त गरेका छन्। उक्त क्षेत्रमा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १८६ मत र नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले १२९ मत प्राप्त गरेका छन्।

झापा–१ मा रास्वपाकी निशा डाँगी ३ हजार १७० मतसहित अग्रस्थानमा छन्। नेपाली कांग्रेसका केशवराज पाण्डेले १ हजार २८ मत र नेपाल कम्युनिष्ट पार्टीका रामचन्द्र उप्रेतीले ७८० मत प्राप्त गरेका छन्।

झापा–२ मा रास्वपाकी इन्दिरा राना मगर ३ हजार ३९५ मतसहित अगाडि छन्। नेकपा (एमाले)का देवराज घिमिरेले १ हजार ३१० मत प्राप्त गरेका छन् भने राप्रपाका भद्र नेपालले २०३ र नेपाली कांग्रेसकी सरिता प्रसाईंले १९१ मत पाएका छन्।

झापा–३ मा रास्वपाका प्रकाश पाठक ४ हजार ७५ मतसहित अग्रस्थानमा छन्। राप्रपाका राजेन्द्र लिङ्देनले २ हजार ७७९ मत, श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले १ हजार ४६८ मत, नेकपा (एमाले)का हरिबहादुर राजवंशीले १ हजार ३७ मत र नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरेले ८८० मत प्राप्त गरेका छन्।

झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल ५ हजार २५४ मतसहित अगाडि छन्। नेकपा (एमाले)का लालप्रसाद साँवा लिम्बूले १ हजार २४८ मत र नेपाली कांग्रेसका देउकुमार थेवेले ४७० मत प्राप्त गरेका छन्।

जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *