देश

देशभर मतगणना जारी, तीन हिमाली जिल्लाका मतपत्र आउन बाँकी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका अधिकांश स्थानमा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ। केही स्थानमा बाहेक देशभर मतगणना भइरहेको आयोगको भनाइ छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हिमाली क्षेत्रका १५ जिल्लाका मतपत्रमध्ये हाल तीन जिल्लाका मतपत्र मात्रै मतगणना स्थलमा ल्याउन बाँकी रहेको छ। मौसम अनुकूल भएसँगै ती जिल्लाका मतपत्र पनि ढुवानी गरिने उनले बताए। यसका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग निरन्तर समन्वय भइरहेको उनले जानकारी दिए।

हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्ने हिमाली जिल्लामा रसुवा, दोलखा, रुकुम पूर्व, रुकुम पश्चिम, बाजुरा, बझाङ, हुम्ला, ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, मनाङ, डोल्पा, गोरखा, मुगु र मुस्ताङ रहेका थिए। तीमध्ये अहिले संखुवासभा, डोल्पा र गोरखाका मतपत्र मात्रै मतगणना स्थलमा ल्याउन बाँकी रहेको आयोगले जनाएको छ।

हिजो सम्पन्न निर्वाचनमा १ करोड ९ लाख ७७ हजार ७११ मत अर्थात् ५८ दशमलव ०७ प्रतिशत मत खसेको सहायक प्रवक्ता जिसीले जानकारी दिए।

निर्वाचनका लागि कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६८९ रहेको थियो। देशभरको अन्तिम मतगणना सम्पन्न भएपछि मात्रै मतपरिणामको यकिन तथ्यांक सार्वजनिक हुने आयोगले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *