देश

मतगणनाको प्रारम्भिक मत : नयाँ दलको अग्रता, कांग्रेस,एमाले र नेकपा भन्छन्– जनमतको सम्मान गर्छौं

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि देशभर मतगणना जारी रहँदा प्रारम्भिक परिणामले राजनीतिक समीकरणमा परिवर्तनको संकेत देखाएको छ। ५० भन्दा बढी निर्वाचन क्षेत्रमा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू अग्रस्थानमा देखिएका छन्, जबकि एमाले, नेपाली कांग्रेस र नेकपाका उम्मेदवारहरू धेरै स्थानमा पछाडि परेका छन्।

प्रारम्भिक मतगणनामा देखिएको मतदाताको झुकाव अन्तिम परिणामसम्म कायम रहेमा रास्वपाले उल्लेखनीय सफलता हासिल गर्न सक्ने विश्लेषण भइरहेका छन्। यद्यपि मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम नआएसम्म निष्कर्षमा पुग्न हतार नगर्न दलका नेताहरूले बताएका छन्।

प्रारम्भिक नतिजाबारे प्रतिक्रिया दिँदै नेकपा एमालेका नेता तथा निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले लोकतान्त्रिक प्रक्रियाबाट आउने कुनै पनि परिणामलाई सम्मान गर्ने बताए। उनले मतगणना प्रारम्भिक चरणमै रहेको उल्लेख गर्दै अन्तिम नतिजापछि पार्टीले आफ्नो रणनीति तय गर्ने धारणा व्यक्त गरे। त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका नेता देव गुरुङले हालको राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर नतिजालाई विश्लेषण गर्नुपर्ने बताएका छन्। जेनजी आन्दोलनपछि परम्परागत दलहरूको प्रभाव कमजोर भएको अवस्थामा निर्वाचन भएको भन्दै उनले अन्तिम परिणाम आएपछि विस्तृत समीक्षा गरिने बताए।

यसैबीच नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पनि मतदाताको निर्णयलाई सम्मान गर्ने बताएका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले लोकतान्त्रिक प्रक्रियाबाट आएको जनमतलाई स्वीकार गर्ने उल्लेख गर्दै देशका मूल मुद्दामा समर्थन र खबरदारी दुवै भूमिका निभाइने बताएका छन्। देशभर मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्नेछ। तर प्रारम्भिक प्रवृत्तिले राजनीतिक वृत्तमा व्यापक बहस र चासो भने बढाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *