काठमाडौं । कर्णाली प्रदेशका प्रतिनिधिसभातर्फका ६ वटा निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा प्रारम्भिक परिणामहरूले विभिन्न दलबीच रोचक प्रतिस्पर्धा देखिएको छ। केही क्षेत्रमा पहिलो चरणको मतपरिणाम सार्वजनिक भइसकेको छ भने केही स्थानमा मतगणना अझै सुरु भएको अवस्थामै छ।
शुक्रबार दिउँसोसम्म प्राप्त विवरण अनुसार सुर्खेत–१ र दैलेख–१ मा नेपाली कांग्रेसले अग्रता बनाएको छ। सुर्खेत–१ मा हालसम्म १९९० मत गणना हुँदा कांग्रेसका विष्णुकुमार खड्काले ७९६ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह ५४५ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका ध्रुवकुमार शाहीले ४२७ मत प्राप्त गरेका छन्। अन्य दलका उम्मेदवारहरूले तुलनात्मक रूपमा कम मत पाएका छन् भने केही मत बदर भएको पनि जनाइएको छ।
यस्तै सुर्खेत–२ मा प्रारम्भमा कांग्रेसले अग्रता लिए पनि पछिल्लो मतगणनामा नेकपा एमालेका कुलमणि देवकोटा ३१६ मतसहित अगाडि देखिएका छन्। यहाँ कांग्रेसका कोइरालाले २१८, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले १२७ तथा नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले १०७ मत प्राप्त गरेका छन्।
दैलेख–१ मा भने नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा निरन्तर अग्रस्थानमा छिन्। उनले १९४९ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रविन्द्र शर्माले १४७५ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका नन्दकिशोर बस्नेतले १०२४ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापाले १२९ मत प्राप्त गरेका छन्।
कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका महेन्द्रबहादुर शाहीले अग्रता कायम राखेका छन्। पलाँता, पचालझरना, नरहरिनाथ गाउँपालिका र तिलागुफा नगरपालिकाका केही वडाको मतगणना सम्पन्न हुँदा उनले ४८३६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका हर्षबहादुर बमले ३५९० मत ल्याएका छन् भने नेकपा एमालेका नगीन्द्र शाहीले ३४३२ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले २३३९ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले ७९० मत मात्रै प्राप्त गरेको छ।
जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) अग्रस्थानमा छन्। त्यहाँ नेकपा उम्मेदवार नरेश भण्डारी दोस्रो स्थानमा रहेका छन्। उता रुकुम पश्चिममा पनि पहिलो चरणको मतपरिणाम सार्वजनिक भएको छ। आठबिसकोट नगरपालिका वडा नम्बर १ र ३ को ९०२ मत गणना हुँदा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा ‘प्रभाकर’ले ४१२ मतसहित अग्रता लिएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले २८७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका राजु केसीले ८८ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीले ८२ मत प्राप्त गरेका छन्।
कर्णालीका सबै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै केही समय लाग्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।




