विराटनगर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङका अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन्। जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा क्षेत्र नम्बर ३ बाहेक अन्य पाँच क्षेत्रमा रास्वपाका उम्मेदवार अघि देखिएका हुन्।
मोरङ–६ मा रास्वपाकी उम्मेदवार रूविना आचार्यले ३ हजार ४२३ मतसहित अग्रता बनाएकी छन्। ५ हजार ७३४ मत गणना हुँदा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला ७२८ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा (एमाले)का विनोद ढकाल ६२७ मतसहित तेस्रो स्थानमा छन्।
मोरङ–५ मा रास्वपाकी उम्मेदवार आशा झाले ३ हजार ९७९ मतसहित अग्रता कायम गरेकी छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकुमार यादव १ हजार ३६६ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा उम्मेदवार शिवकुमार मण्डल १ हजार २८६ मतसहित तेस्रो स्थानमा छन्।
यस्तै मोरङ–४ मा रास्वपाका उम्मेदवार सन्तोष राजवंशीले ११ हजार ५६४ मतसहित अग्रता लिएका छन्। नेपाली कांग्रेसका गुरुराज घिमिरे २ हजार ६४८ मतसहित दोस्रो स्थानमा रहेका छन्।
मोरङ–३ मा भने श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगर ५५४ मतसहित अगाडि छन्। नेपाली कांग्रेसका सुनिल शर्मा ३३६ मतसहित दोस्रो स्थानमा छन् भने रास्वपाका गणेश कार्की २९५ मतसहित तेस्रो स्थानमा छन्।
मोरङ–२ मा रास्वपाका उम्मेदवार कृष्ण कार्की १ हजार १६७ मतसहित अग्रस्थानमा छन्। नेकपा (एमाले)का दिलीपकुमार अग्रवाल ४४५ मतसहित दोस्रो र नेपाली कांग्रेसका मिनेन्द्रप्रसाद रिजाल ३६७ मतसहित तेस्रो स्थानमा छन्।
मोरङ–१ मा पनि रास्वपाका उम्मेदवार यज्ञमणि न्यौपाने ४ हजार १२६ मतसहित अगाडि छन्। उनलाई श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिनले २ हजार ८१४ मतसहित पछ्याइरहेकी छन्।
जिल्लाका सबै क्षेत्रमा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।




