देश

मुस्ताङमा कांग्रेसका योगेश गौचन थकालीको जित निश्चित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीको जित सुनिश्चित भएको छ।

सम्पन्न मतगणनाअनुसार गौचनले ३ हजार ३०७ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। मतगणना सकिए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने औपचारिक घोषणा गर्न बाँकी रहेको जनाएको छ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार इन्द्रधारा विष्टले १ हजार ८०६ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन्।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार कमला लालचनले १६१ मत प्राप्त गर्दा नेकपाका ङुटुक गुरुङले १५१ मत पाएका छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि गौचन मुस्ताङबाट निर्वाचित भएका थिए।

११ हजार ३२८ मतदाता रहेको मुस्ताङमा यसपटक ६ हजार ३८८ मत खसेको थियो। जसमध्ये १०७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *