काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रन्जु न्यौपाने विजयी भएकी छन् । काठमाडौँका क्षेत्र नम्बर १ बाट रन्जुले १५ हजार ४५५ मत प्राप्त गर्दै विजयी भएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरेका छन् । त्यस्तै यस क्षेत्रमा राप्रपाका रविन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका मोहन राज रेग्मीले १ हजार ६१८ र नेकपाकी मेनुका भण्डारीले २०१ मत पाप्त गरेकी छन् ।
रञ्जु दर्शना : युवा उमेरमै राजनीतिमा उदाएको नाम
रञ्जु दर्शना नेपाली राजनीतिमा वैकल्पिक राजनीतिको वकालत गर्दै उदाएकी युवा नेतृ हुन्। उनी २२ वर्षकै उमेरमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर राष्ट्रिय स्तरमा चर्चामा आएकी थिइन् र त्यसको करिब ९ वर्षपछि प्रतिनिधिसभा सदस्य बन्न सफल भएकी छन्। रञ्जु दर्शना १७ वर्षको उमेरमा २०७० सालमा विवेकशील नेपाली पार्टीमा आवद्ध हुँदै सक्रिय राजनीतिमा प्रवेश गरेकी हुन्। त्यस समयमा नेपालमा बारम्बार हुने बन्द–हड्तालको विरोध गर्दै उनी सडक आन्दोलनमा सक्रिय रहिन्। नागरिकलाई सास्ती दिने बन्द संस्कृतिको विरोध गर्दै उनले ‘बन्द बहिष्कार अभियान’मा महत्वपूर्ण भूमिका खेलेकी थिइन्।
२०७२ सालको महाभूकम्पपछि राहत तथा पुनर्स्थापनाका कार्यमा पनि उनी सक्रिय रूपमा संलग्न भइन्। भ्रष्टाचारविरुद्ध डा। गोविन्द केसीले चलाएको आन्दोलनमा समेत उनले सहयोगी भूमिका निर्वाह गरेकी थिइन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा उनले २२ वर्षको उमेरमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिँदै ‘काठमाडौं विश्वकै सुन्दर शहर बनाऔँ’ भन्ने नारासहित चुनाव लडेकी थिइन्। उक्त निर्वाचनमा उनले २३ हजारभन्दा बढी मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेकी थिइन्, जसले उनलाई राष्ट्रिय राजनीतिमा चिनायो।
२०७८ सालमा विवेकशील पार्टीभित्रको आन्तरिक विवादपछि उनले पार्टीबाट राजीनामा दिइन्। त्यसपछि केही समय स्वतन्त्र रूपमा सक्रिय रहिन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवार बने पनि सफलता हासिल गर्न सकिनन्। २०८१ सालमा भने उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिन् र पार्टीको केन्द्रीय सदस्य बनिन्। सोही पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेर उनले प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरिन्।
काठमाडौंको मैतीदेवी क्षेत्रकी स्थायी बासिन्दा रञ्जुले स्नातक तहसम्म अध्ययन गरेकी छन्। राजनीतिमा सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शी प्रशासन, हरित शहर, सुरक्षित र व्यवस्थित काठमाडौं, ट्राफिक सुधार, सुकुम्बासी समस्या समाधान, मानसिक स्वास्थ्य सेवा, उद्यम र सीप विकास तथा महिला सशक्तिकरणजस्ता विषयलाई उनले प्राथमिकतामा राखेकी छन्।‘सुशासन विना विकास सम्भव छैन’ भन्ने विश्वासका साथ उनी अहिले संसदमा सक्रिय भूमिका खेल्ने तयारीमा छिन्।




