काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले देखाएको उत्साह र सक्रिय सहभागिताले नेपाली लोकतन्त्रप्रतिको जनविश्वास र प्रतिवद्धता पुनः पुष्टि गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले मतदातालाई धन्यवाद दिँदै भनेको छ कि निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मत प्रयोग गर्ने सम्पूर्ण नागरिक प्रति पार्टीको उच्च सम्मान र कृतज्ञता व्यक्त गर्दछ। यस सहभागिताले न केवल लोकतान्त्रिक प्रणालीप्रति जनताको गहिरो विश्वास पुष्टि गरेको छ, तर राजनीतिक दलहरू र नयाँ बन्ने सरकारलाई जनअपेक्षाअनुसार काम गर्न थप जिम्मेवार बनाएको छ।
केही निर्वाचन क्षेत्रमा देखिएका सानो घटना बाहेक, अधिकांश स्थानमा शान्तिपूर्ण मतदान सम्पन्न भएकोमा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिइएको छ। साथै, निर्वाचन सफल बनाउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायहरू प्रति हार्दिक बधाई व्यक्त गरिएको छ। नेपाली कांग्रेसले राजनीतिक दल, सञ्चारकर्मी, तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई पनि जिम्मेवारीपूर्ण भूमिकाका लागि धन्यवाद प्रकट गरेको छ।





