काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर आज मतदान शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन गरिएको थियो। निर्धारित समयभित्र मतदान केन्द्र पुगेका मतदातालाई लाइनमा रहेकै आधारमा मतदान गर्न दिइने व्यवस्था गरिएको थियो।
निर्वाचन आयोगका अनुसार अधिकांश स्थानमा मतदान व्यवस्थित रूपमा सम्पन्न भएको छ। दोलखा, सर्लाही र रौतहटका केही मतदान केन्द्रमा क्षणिक विवाद देखिए पनि प्रशासनको पहलमा ती समस्या समाधान गर्दै मतदान पुनः सञ्चालन गरिएको थियो। दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा केहीबेर रोकिएको मतदान पछि पुनः सुरु गरिएको थियो। आयोगले मतदानसम्बन्धी विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ।
यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रका लागि चुनाव भएको छ भने समानुपातिकतर्फ ११० स्थानका लागि प्रतिस्पर्धा भएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ६५ राजनीतिक दलका उम्मेदवारसहित तीन हजार ४०६ जनाले प्रतिस्पर्धा गरेका छन्, जसमा तीन हजार १७ पुरुष, ३८८ महिला र एक जना अन्य उम्मेदवार रहेका छन्। समानुपातिक प्रणालीतर्फ भने तीन हजार १३५ उम्मेदवार मैदानमा छन्, जसमा एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला छन्।
निर्वाचनमा देशभर एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्। तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता छन्। यसबाहेक एक लाख ८६ हजारभन्दा बढी अस्थायी मतदाता पनि सहभागी भएका छन्। देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्रबाट मतदान सम्पन्न गरिएको थियो। साथै, १४३ अस्थायी मतदानस्थल पनि व्यवस्थापन गरिएको थियो।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई प्राथमिकता दिँदै मतदान गर्न सहज वातावरण बनाइएको थियो। निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन व्यापक सुरक्षा व्यवस्था गरिएको थियो। सुरक्षाका लागि करिब ८० हजार नेपाली सेना, ७५ हजारभन्दा बढी नेपाल प्रहरी, ३४ हजारभन्दा बढी सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी तथा ठूलो संख्यामा म्यादी प्रहरी परिचालन गरिएको थियो।
यसपटकको निर्वाचनमा विशेषगरी युवापुस्ताको सक्रियता उल्लेखनीय देखियो। पछिल्लो समय देखिएको ‘जेनजी आन्दोलन’ले राजनीतिक चेतना र सहभागितामा नयाँ ऊर्जा थपेको विश्लेषण गरिएको छ। युवापुस्ताले सामाजिक सञ्जाल र सार्वजनिक बहसका माध्यमबाट पारदर्शिता, सुशासन र जवाफदेहिताको माग उठाउँदै निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा लिएका छन्।
मतदान सम्पन्न भएसँगै अब सबैको ध्यान मतगणना प्रक्रियातर्फ केन्द्रित भएको छ। निर्वाचनको विश्वसनीयता कायम राख्ने सबैभन्दा संवेदनशील चरण यही हो। मतपेटिका सुरक्षित ढंगले गणनास्थलमा पुर्याउने, मतगणना निष्पक्ष र पारदर्शी रूपमा सञ्चालन गर्ने तथा परिणाम सार्वजनिक गर्दा नियमको पूर्ण पालना गर्ने जिम्मेवारी निर्वाचन अधिकृत र प्रशासनको काँधमा छ।
त्यसैगरी सुरक्षा निकायको भूमिका पनि यस चरणमा महत्वपूर्ण हुन्छ। मतपेटिकाको सुरक्षा, मतगणना स्थलको संरक्षण र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा संयन्त्र उच्च सतर्कतामा रहने अपेक्षा गरिएको छ।
लोकतन्त्र केवल मतदानसम्म सीमित रहँदैन, त्यसको विश्वसनीयता मतगणना र परिणाम सार्वजनिक गर्ने प्रक्रियामा पनि निर्भर हुन्छ। त्यसैले मतगणना प्रक्रिया पारदर्शी, विश्वसनीय र विवादरहित ढंगले सम्पन्न हुनु आवश्यक छ। यदि यो चरण सफलतापूर्वक अघि बढ्यो भने यस निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।




