काठमाडौँ । सर्लाहीको बलरा–४, श्री प्राथमिक विद्यालय मतदान केन्द्रमा बिहीबार दिउँसो केहीबेर मतदान तनावग्रस्त भएको थियो। विरोधी पक्षले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहको उपस्थितिले कांग्रेस कार्यकर्तामाथि दादागिरी र आतंक मच्चाएको दाबी गरेका छन्। यसअघि सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाउने भन्दै अराजक गतिविधि गरेको बुझिएको छ । उनले केही समयअघि बालेनले निर्वाचन नजिते आत्मादाह गर्ने भनेका थिए । तर सर्लाही ४ मा नेपाली कांग्रेस सभापति गगन थापाले निर्वाचन जित्ने भएपछि सिंहले वातावरण विथोल्न खोजेको स्रोतको दाबी छ ।
उक्त मतदान केन्द्रमा प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया र जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्का तीन घण्टादेखि उपस्थित रहेर विवाद मिलाउन सक्रिय थिए। उनीहरू बीचको छलफलपछि अहिले मतदान पुनः सुचारु भएको छ। स्थानीय प्रशासनका अनुसार, केही ठाउँमा सामान्य विवाद भए पनि समग्र जिल्लामा अवस्था नियन्त्रणमा छ। सीडीओ कडरियाले भने, “पार्टी प्रतिनिधिबीच हल्का विवाद भएको मात्रै हो। मतदाता खुसी छन् र मतदान सुचारु भइरहेको छ।”
सर्लाही–४ मा प्रतिस्पर्धा निकै तिव्र छ। यस क्षेत्रका प्रमुख उम्मेदवारमध्ये नेपाली कांग्रेसका नेतासँगै २०७९ को निर्वाचनमा स्वतन्त्र रूपमा विजयी भएका डा. अमरेशकुमार सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट मैदानमा छन्। पछिल्ला दिनमा दुवै पक्षले आक्रामक प्रचार अभियान चलाइरहेका थिए।
सुरक्षा स्रोतका अनुसार, मतदानअघि सम्भावित अवाञ्छित गतिविधि रोक्न विशेष सतर्कता अपनाइएको छ। बाह्य तत्व परिचालन गरेर अस्थिरता सिर्जना हुन सक्ने आशंका अनुसार संवेदनशील स्थानमा गस्ती, निगरानी र समन्वय तीव्र पारिएको छ। निर्वाचन आयोग र स्थानीय प्रशासनले मतदातालाई हल्ला र अपुष्ट सूचनामा नलाग्न आग्रह गरेका छन्। स्रोतले स्पष्ट पारेका छन्—सर्लाही–४ मा मतदानलाई प्रभावित पार्ने कुनै पनि अवाञ्छित गतिविधि सह्य नहुने र संलग्न जो–कोहीमाथि कानुनी कारबाही गरिनेछ।
भिडियाे तल हेर्नुहाेस् ः




