आजको दिन केवल मतपत्रमा चिन्ह लगाउने औपचारिक प्रक्रिया मात्र होइन, यो दिन जनताको आशा, सङ्घर्ष र लोकतान्त्रिक अधिकारको उत्सव हो। आज नेपाली नागरिकहरूले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्दै राष्ट्रको भविष्य निर्धारण गर्ने ऐतिहासिक अवसर पाएका छन्। नेपालको संविधानले स्पष्ट रूपमा उल्लेख गरेको छ—सार्वभौमसत्ता नेपाली जनतामा निहित छ। यही अधिकारलाई व्यवहारमा उतार्ने सबैभन्दा प्रभावकारी माध्यम हो निर्वाचन।
मतदान गर्दा नागरिकले केवल कुनै दल वा उम्मेदवारलाई रोजिरहेका हुँदैनन्। उनीहरूले आफ्नो सन्तानको भविष्य, देशको समृद्धि, सुशासन र राष्ट्रिय हितको मार्ग रोजिरहेका हुन्छन्। एक मत केवल कागजमा लगाइने चिन्ह होइनस त्यो विवेक, जिम्मेवारी र आशाको प्रतीक हो। यही विश्वासले लोकतन्त्रलाई जीवित राख्छ—जहाँ शक्ति जनतामा हुन्छ र राष्ट्रको भविष्य पनि जनताकै निर्णयले तय हुन्छ।
यस निर्वाचनमा करिब एक करोड ८९ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै २७५ सदस्यीय प्रतिनिधि सभा चयन गर्नेछन्। प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ सदस्य र समानुपातिक प्रणालीबाट ११० सदस्य निर्वाचित हुने व्यवस्था छ। यस संयोजनले समाजका विविध समुदाय, वर्ग र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्ने लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँछ।
यो निर्वाचन सामान्य समयतालिकाभन्दा दुई वर्षअघि हुन लागेको विशेष राजनीतिक परिस्थितिको परिणाम हो। केही समयअघि सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोध र सुशासनको माग गर्दै युवाहरू सडकमा उत्रिए। त्यस क्रममा भएको आन्दोलन, त्यसपछिका अप्रिय घटनाहरू र राजनीतिक अस्थिरताले देशलाई गम्भीर सङ्कटमा पुर्यायो। त्यसै परिस्थितिमा तत्कालीन सरकारको राजीनामासँगै प्रतिनिधि सभा विघटन भयो र देशलाई संवैधानिक मार्गमा फर्काउन अन्तरिम सरकार गठन गरियो।
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्दै छ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिएका थिए। आजको निर्वाचन त्यही राजनीतिक संक्रमण अन्त्य गर्दै मुलुकलाई पुनः पूर्ण संवैधानिक दायरामा फर्काउने महत्वपूर्ण मोड हो। निर्वाचन सम्पन्न भएपछि जननिर्वाचित प्रतिनिधि सभाले नयाँ प्रधानमन्त्री चयन गर्नेछ र अन्तरिम सरकार आफ्नो जिम्मेवारी पूरा गर्दै बिदा हुनेछ।
यस अर्थमा आजको मतदान केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र होइनस यो लोकतन्त्रको पुनःस्थापना, स्थायित्व र जनविश्वास पुनःस्थापित गर्ने महत्वपूर्ण चरण हो। लामो सङ्घर्षपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन पनि यो निर्वाचन अत्यन्त महत्वपूर्ण छ।
मतदानलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाउन राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय, प्रशासन र आम नागरिक सबैको जिम्मेवारी बराबर हुन्छ। हल्ला, अफवाह, डर, धम्की वा प्रलोभनमा परेर मताधिकार प्रयोग गर्नु लोकतन्त्रको मर्मविपरीत हुन्छ। प्रत्येक नागरिकले आफ्नै विवेक प्रयोग गरेर गोप्य मतदान गर्नु र निर्वाचनको स्वच्छतामा सहयोग गर्नु नागरिक कर्तव्य पनि हो।
जनताले यस निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा हेरेका छन्। उनीहरूको अपेक्षा स्पष्ट छ—भ्रष्टाचारको अन्त्य होस्, स्थिर सरकार बनोस्, सुशासन कायम होस् र संसद् जनताको हितमा ऐन–कानुन निर्माण गर्ने प्रभावकारी थलो बनोस्। संसद् केवल सरकार बनाउने वा ढाल्ने मंच मात्र नभई राष्ट्र निर्माणको संस्थागत केन्द्र बन्नुपर्छ भन्ने जनताको चाहना छ।
यस पटकको निर्वाचनमा युवाको सहभागिता विशेष उल्लेखनीय छ। लाखौँ युवाले पहिलो पटक मतदान गर्दैछन्। उनीहरूको मत केवल एक चिन्ह मात्र होइन, परिवर्तनको सन्देश हो। युवाहरू इमानदार नेतृत्व, रोजगारीका अवसर, पारदर्शी शासन र स्थिर राजनीतिक वातावरण खोजिरहेका छन्। यही आकांक्षाले निर्वाचनलाई नयाँ ऊर्जा दिएको छ।
लोकतन्त्रमा बलियो सरकार मात्र पर्याप्त हुँदैन, बलियो प्रतिपक्ष पनि आवश्यक हुन्छ। प्रतिपक्षले जनताको असन्तुष्टि र आवाजलाई संसद् तथा सरकारसम्म पुर्याएर शासन व्यवस्थालाई जिम्मेवार बनाउने काम गर्छ। विगतका राजनीतिक घटनाहरूले यही पाठ सिकाएका छन्—यदि सरकार र प्रतिपक्ष दुवै जिम्मेवार भएनन् भने जनताको असन्तुष्टि सडकमा विस्फोट हुन सक्छ।
यसैले आजको निर्वाचनले केवल बलियो सरकार मात्र होइन, जिम्मेवार र प्रभावकारी प्रतिपक्ष पनि दिनुपर्छ। दलहरूले जनताले दिएको जनादेशलाई सम्मान गर्दै इमानदारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्न सके मात्र लोकतन्त्र सुदृढ हुन्छ।
आजको दिन हरेक मतदाता सजग, जिम्मेवार र सचेत भएर मतदान केन्द्रमा पुग्नुपर्छ। देश बनाउने, बचाउने र छोटो समयमा विकासको मार्गमा अघि बढाउने स्पष्ट दृष्टि भएका उम्मेदवारलाई निडर भएर मत दिनु आवश्यक छ। योग्य, सक्षम, नैतिकवान, पारदर्शी र दूरदर्शी नेतृत्व छान्नु आजको मतदाताको जिम्मेवारी हो।
निर्वाचनका क्रममा सरकारले तोकेका नियम र मापदण्ड पालना गर्नु, शान्ति र सद्भाव कायम राख्नु र सभ्य नागरिकको परिचय दिनु पनि उत्तिकै महत्वपूर्ण छ। कुनै पनि अप्रिय घटना नहोस् भन्ने कुरामा सरकार, नागरिक, सुरक्षा निकाय, उम्मेदवार र निर्वाचन अधिकारी सबैले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्छ।
आशा गरौँ—आज जनताले दिएको प्रत्येक मतपत्र एउटा दीपक बन्नेछ, जसले नेपाललाई सुशासन, स्थिरता र समृद्धिको उज्यालोतर्फ डोर्याउनेछ। अन्ततः, जसले जिते वा हारे पनि देशले जित्नुपर्छ। किनकि मतदान सम्पूर्ण नागरिकहरूको र सिङ्गो देश नेपालको भविष्य फेर्ने र उज्ज्वल भविष्यतर्फ लैजाने सुनौलो अवसर हो।




