काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेका बेला विभिन्न स्थानमा शङ्कास्पद वस्तु भेटिएपछि सुरक्षाकर्मी परिचालन गरिएको छ। जाँचपछिमात्र ती वस्तु ‘होक्स’ अर्थात् वास्तविक विस्फोटक नभएको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंसहित देशका २२ स्थानमा शङ्कास्पद वस्तु फेला परेको थियो। ती स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली खटिएर जाँच गर्दा वास्तविक बम नभई ‘होक्स’ भएको खुलेको हो।
काठमाडौंका दुई स्थानमा यस्ता वस्तु भेटिएको थियो भने ताप्लेजुङ, मोरङ, सर्लाही, रौतहट, सप्तरी, चितवन, मकवानपुर, बागलुङ, कपिलवस्तु र कञ्चनपुरमा एक–एक स्थानमा शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जानकारी दिएको छ। त्यसैगरी बाँकेमा तीन स्थान र बर्दियामा दुई स्थानमा पनि यस्ता वस्तु फेला परेका थिए।
सुरक्षाकर्मीले ती सबै स्थानमा तत्काल नियन्त्रणमा लिएर जाँच गरी अवस्था सामान्य बनाएको बताएका छन्।यसबीच, यी घटनाबाहेक देशका अधिकांश मतदान केन्द्रमा भने मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी रहेको प्रहरीले जनाएको छ।




