काठमाडौं । प्रतिनिधिसभा निर्वाचन–२०८२ अन्तर्गत बिहीबार बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार देशका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया सुरु भएको छ र मतदाताले अपराह्न ५ बजेसम्म मतदान गर्न पाउनेछन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रारम्भिक चरणमा अधिकांश स्थानमा निर्वाध रूपमा मतदान सुरु भएको जानकारी आएको छ। आयोगले मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, राहदानी वा लालपूर्जा देखाएर मतदान गर्न सकिने जनाएको छ। महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ भने अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी तथा बिरामीलाई विशेष सुविधा दिइएको छ।
यसैबीच निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौं निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वडा नं। २९ स्थित मिलन विद्या मन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन्। निर्वाचन आयुक्त डा। जानकीकुमारी तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका–२ स्थित महेन्द्र माध्यमिक विद्यालयबाट मत खसालेकी छन् भने आयुक्त सगुनशम्शेर जबराले टोखा नगरपालिका–४ धापासीस्थित धापासी निमावि मतदान केन्द्रबाट मतदान गरेका छन्।
राजनीतिक दलका नेताहरूले पनि बिहानै मतदान गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन्। बिहान साढे ७ बजे मतदान गरेका उनले त्यसपछि आफ्नो उम्मेदवारी रहेको झापा–५ जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
त्यस्तै रास्वपाका सभापति रवि लामिछानेले काठमाडौं क्षेत्र नम्बर ३ अन्तर्गत महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड परिसरको मतदानस्थलबाट मतदान गरेका छन्। उनी चितवन–२ बाट उम्मेदवार भएकाले आफ्नो क्षेत्रमा भने मतदान गर्न पाउँदैनन्। मतदानपछि उनले मतपेटिकामा ढोगेको दृश्य पनि देखिएको थियो।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर–९ स्थित कविशिरोमणि माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन्। उनले पार्टीको माहोल सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्।
यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले धरान उपमहानगरपालिका–१८ स्थित कारमेल स्कुलबाट मतदान गरेका छन्। उनी सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन्।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं–३ अन्तर्गत बौद्धस्थित जनकल्याण माध्यमिक विद्यालयबाट बिहानै मतदान गरेका छन्। मतदानपछि उनले जनताले विश्वास गरेर आफ्नो पार्टीलाई जिताउने विश्वास व्यक्त गरे। उनले निर्वाचन समग्रमा शान्तिपूर्ण भए पनि केही ठाउँमा पैसा बाँडिएको भन्ने कुरा सुनिएको बताए।
यसैबीच नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ अन्तर्गत भरतपुर–१४ स्थित प्रहरी स्कुलमा मतदान गरेका छन्। मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नयाँ र पुराना दल भन्ने बहस देशको हितमा नभएको बताएका छन्। उनले दलको योजना र कार्यक्रमका आधारमा सही र गलतको मूल्यांकन हुनुपर्ने धारणा व्यक्त गरे।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएको छ। तीमध्ये ३ हजार ६८० अति संवेदनशील, ४ हजार ४४२ संवेदनशील र २ हजार ८४५ सामान्य मतदान केन्द्रका रूपमा वर्गीकरण गरिएको छ। साथै १४३ अस्थायी मतदान स्थल पनि निर्धारण गरिएको छ।
निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरी गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने दुई लाखभन्दा बढी सरका




