काठमाडौं । निर्वाचन नजिकिँदै जाँदा देशका विभिन्न स्थानमा बम राखिएको वा शंकास्पद वस्तु भेटिएको भन्ने खबरहरूले सर्वसाधारणमा त्रास सिर्जना गर्न खोजिएको देखिन्छ। नागरिकमा आतंक फैलाउने र सुरक्षाकर्मीलाई अनावश्यक दबाब दिने उद्देश्यसहित यस्ता गतिविधि भइरहेको भन्दै सुरक्षा निकायले सतर्कता बढाएको छ।
यसैक्रममा १९ फागुनमा महोत्तरीको बर्दीबासस्थित रातु पुलमा शंकास्पद वस्तु फेला परेको थियो। स्थानीयले जानकारी दिएपछि नेपाल प्रहरीले तत्काल स्थल सुरक्षा घेरामा लिएको थियो। प्रहरीको समन्वयमा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो। टोलीले आवश्यक जाँचपछाडि उक्त वस्तुलाई नियन्त्रित विष्फोटमार्फत निष्क्रिय पारेको जनाएको छ।
निर्वाचनको संवेदनशील समयमा यस्ता गतिविधिले सर्वसाधारणमा अनावश्यक भय सिर्जना गर्ने भएकाले सुरक्षा निकायले देशभर निगरानी र अनुगमनलाई तीव्र बनाएको जनाएको छ। प्रमुख स्थान, पुल, सरकारी कार्यालय र भीडभाड हुने क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ।
सुरक्षा अधिकारीहरूका अनुसार हालसम्म प्राप्त अधिकांश सूचनाहरूमा वास्तविक विस्फोटक नभेटिए पनि कुनै पनि सूचना हल्का रूपमा नलिई उच्च सावधानी अपनाइँदै आएको छ। निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने प्रतिबद्धतासहित सुरक्षा संयन्त्र चौकन्ना अवस्थामा रहेको बताइएको छ। नागरिकलाई हल्लाको पछि नलागी शंकास्पद गतिविधि देखिएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरिएको छ।
धनुषामा शंकास्पद वस्तु विस्फोट : दुई जना घाइते, क्षेत्र सुरक्षा घेरामा
धनुषा । मधेश प्रदेशअन्तर्गत धनुषामा शंकास्पद वस्तु पड्किँदा थप दुई जना घाइते भएका छन्। धनुषाको मिथिला नगरपालिका–१० लालगढ र बर्दिवासबीच पर्ने रातो पुल (महोत्तरी साइड) मा रातो टेपले बेरिएका दुई वटा शंकास्पद वस्तु फेला परेको थियो। प्राप्त जानकारीअनुसार पुलमा राखिएको वस्तु छुँदा एउटा अचानक विस्फोट भएको हो।
घटनामा कैलालीको घोडाघोडी नगरपालिका–१० निवासी सन्देश चौधरी र समीर चौधरी सामान्य घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि बर्दिवासतर्फ लगिएको छ। घटनास्थलमा अर्को एक शंकास्पद वस्तु अझै रहेको जनाइएको छ। सुरक्षाकर्मीले क्षेत्रलाई नियन्त्रणमा लिएर सर्वसाधारणको आवतजावतमा रोक लगाएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले बम डिस्पोजल टोली घटनास्थलमा पुगिसकेको र वस्तुलाई सुरक्षित रूपमा निष्क्रिय पार्ने प्रक्रिया जारी रहेको जनाएको छ। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा पनि यस्तै घटना हुँदा दुई बालबालिका घाइते भएका थिए। पछिल्लो घटनापछि पूर्व–पश्चिम लोकमार्ग आसपास केही समय त्रास फैलिएको छ। प्रहरीले सर्वसाधारणलाई शंकास्पद वस्तु नछुन र देखिएमा तत्काल जानकारी दिन आग्रह गरेको छ।




