काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावलाई ‘गम्भीर सुरक्षा जोखिम’ भन्दै त्यहाँ रहेका अमेरिकी नागरिकलाई तुरुन्तै व्यावसायिक उडानमार्फत स्वदेश फर्कन आग्रह गरेको छ।
मार्च २ मा जारी गरिएको सुरक्षा अपडेटमा विभागले बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, वेस्ट बैंक र गाजा, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरेबिया, सिरिया, संयुक्त अरब इमिरेट्स (यूएई) र यमनमा रहेका अमेरिकीलाई “अब उपलब्ध व्यावसायिक माध्यम प्रयोग गरेर” देश छोड्न सल्लाह दिएको हो।
खलीज टाइम्सका अनुसार, क्षेप्यास्त्र प्रहार तथा इरान र उसका क्षेत्रीय प्रतिद्वन्द्वीहरूबीच बढ्दो सैन्य गतिविधिका कारण क्षेत्रीय अस्थिरता तीव्र रूपमा बढेको छ। खाडी र मध्यपूर्वका विभिन्न सरकारहरूले सतर्कता स्तर बढाएका छन् भने हवाई अवरोध र अन्य सुरक्षा घटनाले चिन्ता थप बढाएको उल्लेख गरिएको छ।
विदेश विभागले प्रस्थान व्यवस्थापनमा सहयोग आवश्यक परे विदेशबाट वा अमेरिका तथा क्यानडाभित्रबाट २४ घण्टा सञ्चालनमा रहने आपतकालीन नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ।




