काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचनले मुलुकको विकास, समृद्धि र सामाजिक न्यायको यात्रालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। उनले निर्वाचनलाई लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै नयाँ सम्भावनाको ढोका खोल्ने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरे।
प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निर्वाचन केवल प्रतिनिधि छनोट गर्ने प्रक्रिया मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत सुदृढीकरणको आधार भएको बताए। उनका अनुसार यो निर्वाचनले अघिल्ला पुस्ताको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै भविष्यका पुस्ताका अपेक्षालाई सम्बोधन गर्न मद्दत गर्नेछ।
संघीय शासन प्रणालीमार्फत प्रदेश र स्थानीय तहसम्म अधिकार प्रत्यायोजन गरिएको उल्लेख गर्दै उनले सामाजिक सुरक्षा कार्यक्रम विस्तार, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, महिला, दलित तथा विपन्न समुदायको अधिकार संरक्षणमा उल्लेखनीय प्रयास भएको बताए। शिक्षा, स्वास्थ्य, सडक, ऊर्जा र सञ्चार पूर्वाधारमा भएको प्रगति जनताको सक्रिय सहभागिता र लामो संघर्षको परिणाम भएको उनको भनाइ छ।
राष्ट्रपतिले सुशासन, पारदर्शिता र जवाफदेहितालाई थप मजबुत बनाउन आगामी निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज र सञ्चारमाध्यमलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आह्वानसमेत गरेका छन्।
मतभिन्नता स्वाभाविक भए पनि सहिष्णुता र लोकतान्त्रिक मर्यादा कायम राख्नुपर्नेमा जोड दिँदै राष्ट्रपतिले निर्वाचनलाई राष्ट्रिय एकता र संस्थागत स्थायित्वको अवसरका रूपमा उपयोग गर्न आग्रह गरे।




