देश

निर्वाचनको मौन अवधि आज मध्यरातबाट सुरु : उल्लङ्घन गरे कडा कारबाहीको चेतावनी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले सञ्चालन गर्दै आएको प्रचारप्रसार अवधि आज मध्यरातबाट समाप्त हुँदैछ। निर्वाचन आयोगले फागुन ४ गतेदेखि तोकिएको प्रचार समय आज राति १२ बजेसम्म कायम रहने जानकारी दिएको छ।

मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म लागू हुने ‘मौन अवधि’ अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार, सभा–समारोह, भाषण, छलफल, समीक्षा वा मतदातालाई प्रभाव पार्ने गतिविधि गर्न पाइँदैन। मौन अवधिमा मत माग्ने, सामाजिक सञ्जालमार्फत सन्देश प्रवाह गर्ने, प्रचार सामग्री प्रकाशन–प्रसारण गर्ने तथा निर्वाचनलाई असर पार्ने गरी हिँडडुल गर्नसमेत रोक लगाइएको आयोगले स्पष्ट पारेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा आर्थिक प्रलोभन वा प्रचारसँग जोडिएको कारोबार भेटिएमा उम्मेदवारी खारेजीदेखि छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउनेसम्मको कारबाही हुन सक्छ। आयोगले निर्वाचनलाई प्रभाव पार्ने गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाउने जनाएको छ।

मौन अवधिलाई स्वतन्त्र र निष्पक्ष मतदानका लागि मतदातालाई दबाबमुक्त वातावरणमा निर्णय गर्ने अवसरका रूपमा लिइन्छ। पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार यो समय उम्मेदवार तथा दलहरूले आफ्नो प्रचारको समीक्षा गर्दै मतपरिणामको प्रतीक्षा गर्ने चरण पनि हो।

आचारसंहिताअनुसार मौन अवधि सुरु हुनुअघि मतदान केन्द्र वरपर ३०० मिटर क्षेत्रभित्र रहेका सबै प्रचार सामग्री हटाइसक्नुपर्नेछ। यस अवधिमा एसएमएस, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जालमार्फत मत माग्न वा प्रचार गर्न पाइँदैन। साथै कुनै पनि सञ्चारमाध्यमले उम्मेदवार वा दलको पक्षमा प्रचार हुने गरी सामग्री प्रकाशन वा प्रसारण गर्न पाउने छैनन्।

आगामी निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत ६५ दलका ३ हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्। समानुपातिकतर्फ भने ३ हजार १३५ उम्मेदवार मैदानमा छन्। १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी कुल २७५ सिटका लागि निर्वाचन हुँदैछ।

यसपटक निर्वाचनका लागि १ करोड ८९ लाखभन्दा बढी मतदाता कायम छन् भने देशभर १० हजारभन्दा बढी मतदान स्थल र २३ हजारभन्दा बढी मतदान केन्द्र तोकिएका छन्। सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकाय गरी ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको छ। निर्वाचन सम्पन्न गर्न करिब २ लाखभन्दा बढी कर्मचारी खटाइने आयोगले जनाएको छ।

आयोगका अनुसार चार अन्तर्राष्ट्रिय र दर्जनौँ राष्ट्रिय संस्थाले निर्वाचनको पर्यवेक्षण गर्नेछन्। मतदातालाई स्वतन्त्र, सुरक्षित र सूचित भएर मतदान गर्न मौन अवधिले महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *