देश

आन्तरिक मतगणनामा कांग्रेस उत्साहित, ‘सय पार’ लक्ष्य नजिक पुगेको दाबी

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ६० भन्दा बढी सिट जित्ने आन्तरिक मूल्याङ्कन गरेको जनाएको छ। समानुपातिकतर्फ करिब ३५ सिट हात पार्ने अनुमानसहित पार्टीले कुल सिट संख्या ‘सय पार’ पुर्‍याउने लक्ष्य प्राप्तिको नजिक पुगेको दाबी गरेको छ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार सोमबारसम्म पार्टीभित्र देखिएका केही असन्तुष्टि र मतभेद व्यवस्थापन गर्न सके लक्ष्य भेटिने अवस्था रहेको छ। “सय पार हाम्रो अभियान हो, त्यसतर्फ हामी सकारात्मक दिशामा अघि बढेका छौँ,” उनले बताएका छन्। यद्यपि, आन्तरिक एकता मजबुत बनाउन अझै प्रयास आवश्यक रहेको उनले स्वीकारे।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको विवादका कारण केही शीर्ष नेताहरू चुनावी अभियानमा सक्रिय रूपमा ननिस्किएको पृष्ठभूमिमा कांग्रेसले आन्तरिक व्यवस्थापनलाई चुनौतीका रूपमा लिएको छ। निवर्तमान सभापतिलगायत नेताहरूको असन्तुष्टि र त्यससम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको प्रभाव चुनावी अभियानमा पर्न सक्ने आकलन गरिएको छ।

प्रवक्ता चालिसेका अनुसार काठमाडौं, सर्लाही, कपिलवस्तु, कैलाली, कञ्चनपुर र धनुषालगायतका जिल्लामा जित सुनिश्चित जस्तै देखिएको छ भने एक निर्वाचन क्षेत्र भएका १० भन्दा बढी जिल्लामा पनि कांग्रेस बलियो अवस्थामा रहेको दाबी गरिएको छ। यद्यपि रणनीतिक कारणले सबै क्षेत्र सार्वजनिक गर्न नसकिने उनको भनाइ छ।

अन्य केही क्षेत्रमा झिनो मतान्तरको प्रतिस्पर्धा रहे पनि अन्तिम चरणको घरदैलो र संगठन सुदृढीकरणले परिणाम आफ्नो पक्षमा ल्याउन सकिने कांग्रेसको विश्वास छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिट जितेको थियो भने समानुपातिकतर्फ ३२ सिटसहित कुल ८९ सिट प्राप्त गरी पहिलो दल बनेको थियो। यसपटक भने सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिँदै प्रत्यक्ष सिट संख्या बढाउने रणनीतिमा कांग्रेस देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *