राजनीति

शान्ति, सहभागिता र सुरक्षा प्राथमिकतामा राख्दै प्रधानमन्त्री कार्कीको चार सन्देश

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशबासीका नाममा सम्बोधन गर्दै आगामी निर्वाचन, सामाजिक सद्भाव र विदेशमा रहेका नेपालीको सुरक्षालगायत विषयमा चार मुख्य अपिल सार्वजनिक गरेकी छन्। जेनजी आन्दोलनपछिको राजनीतिक संक्रमण पार गर्दै मुलुक विधिको शासन र संवैधानिक मार्गमा अघि बढिरहेको उल्लेख गर्दै उनले यो उपलब्धि जनताको संयमता र सहकार्यको परिणाम भएको बताइन्।

  • निर्वाचनमा अनिवार्य सहभागिताको आग्रह
    प्रधानमन्त्री कार्कीले पहिलो अपिलका रूपमा सबै मतदातालाई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गरिन्। मतदान केवल औपचारिक प्रक्रिया नभई आफ्नो र भावी पुस्ताको भविष्य निर्धारण गर्ने निर्णय भएको उनको भनाइ छ।
  • मौन अवधिमा अनुशासन र स्वस्थ प्रतिस्पर्धाको आह्वान
    निर्वाचनको सँघारमा शान्ति र अमनचयन कायम राख्न उनले सबै राजनीतिक दल, उम्मेदवार र समर्थकलाई आग्रह गरिन्। स्वस्थ प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भए पनि वैमनस्य र मनमुटाव अस्वीकार्य हुने उनले स्पष्ट पारिन्। मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र प्रचारप्रसारका क्रममा संयमता अपनाउन उनको अपिल छ।
    निर्वाचन व्यवस्थापनमा खटिएको निर्वाचन आयोग, सुरक्षा निकाय र कर्मचारीको प्रयासप्रति आभार व्यक्त गर्दै उनले सरकार निष्पक्ष र भयरहित निर्वाचनका लागि प्रतिबद्ध रहेको बताइन्। मित्रराष्ट्र तथा संयुक्त राष्ट्र संघीय निकायबाट प्राप्त सहयोगको समेत उनले सराहना गरिन्।
  • निर्वाचन र होलीको उत्साहसँगै राष्ट्रिय एकताको सन्देश
    फागुपूर्णिमाको सन्दर्भ जोड्दै प्रधानमन्त्रीले रङहरूको पर्वले एकता र सद्भाव सुदृढ गर्ने विश्वास व्यक्त गरिन्। निर्वाचनको उत्साह र होलीको उमंग मिलेर देशभर सकारात्मक ऊर्जा फैलियोस् भन्ने शुभकामना दिइन्।
  • विदेशमा रहेका नेपालीको सुरक्षामा सरकार सजग
    मध्यपूर्व क्षेत्रमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले त्यहाँ कार्यरत नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको बताइन्। सम्बन्धित देशस्थित नेपाली नियोगलाई सतर्क बनाइएको र परराष्ट्र मन्त्रालयमार्फत सघन अनुगमन भइरहेको जानकारी दिँदै उनले जहाँ रहे पनि नेपाली नागरिकको सुरक्षा र हित रक्षा गर्न सरकार कटिबद्ध रहेको स्पष्ट पारिन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *