काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वकालमा नेपालको राष्ट्रिय स्वाभिमान विश्वमञ्चमा मजबुत बनेको बताएका छन्। उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्नु सरकारको ऐतिहासिक कदम भएको उल्लेख गरे।
ओलीका अनुसार विगतमा ती भूभागबारे औपचारिक दाबी कमजोर रहे पनि नयाँ नक्साले नेपालको दाबीलाई स्पष्ट र संस्थागत बनाएको छ। राष्ट्रियताको प्रश्नमा एमालेले कुनै सम्झौता नगर्ने र “एक इन्च भूमि पनि नछोड्ने” अडान दोहोर्याउँदै उनले अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको आवाज प्रभावकारी रूपमा प्रस्तुत गरिएको दाबी गरे।
उत्तरतर्फ छिमेकी चीनसँगका नाका सञ्चालन र पारवहन पहुँच विस्तारलाई उनले अर्को उपलब्धिका रूपमा प्रस्तुत गरे। उनका अनुसार यसले नेपाललाई ‘ल्यान्ड–लक्ड’ अवस्थाबाट ‘ल्यान्ड–लिङ्क्ड’ देशतर्फ रूपान्तरण गर्ने आधार तयार गरेको छ, जसले समुद्री पहुँचको विकल्प विस्तार गरेको छ।
पूर्वाधार विकासतर्फ पनि ओलीले आफ्नो कार्यकाललाई निर्णायक चरणका रूपमा चित्रित गरे। मेची–महाकाली राजमार्ग विस्तार, हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गको सुरुआत आफ्नै नेतृत्वमा अघि बढाइएको उनको दाबी छ। दमक क्षेत्रमा खानेपानी विस्तार, सञ्चार पूर्वाधार सुदृढीकरण, सुरुङ मार्ग र रेलमार्ग अवधारणा अघि सारिएको उनले बताए।
भूकम्पपछिको पुनःनिर्माणमा करिब साढे आठ लाख घर निर्माण सम्पन्न गरिएको तथ्य प्रस्तुत गर्दै उनले एमाले “काम गरेर देखाउने पार्टी” भएको जिकिर गरे। साथै, ३९६ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास एकैपटक गरिएको उल्लेख गर्दै स्वास्थ्य पूर्वाधारमा समेत ठूलो प्रगति भएको दाबी गरे।




