शुक्रबार रास्वपाले चितवनमा चुनावी आयोजना गर्यो । सभामा सभापति रवि लामिछाने र बालेन्द्र साह बालेनलगायतले सम्बोधन गरेका थिए । बालेनले हल्काफुल्का सेलिब्रिटी स्टाइलमा भाषण गरे । तर उनीपछि आएका रवि लामिछाने औंला देखाउँदै, दाह्रा किट्दै भाषण गरे । उनले चुनावमा विपक्षी दल र नेतालाई अमर्यादित ढंगले सम्बोधन गरे । साथै, मतदातालाई थर्काउँदै भने, ‘मैले जहाँ भन्छु त्यहीँ मात्र मत हाल । खबरदार अन्त मत हाल्न पाइन्न ।’ रवि लामिछाने भएकाले अलिअलि नघोची बस्नै सक्दिनँ भन्दै उनले आफूमा रहेको घृणा र आक्रोश प्रकट गरे । तर उनले बोल्दा नबोल्दै सभामा मान्छे आधी भइसकेका थिए । बालेनले बोलेको हेर्न र सुन्न आएका दर्शक एकछिनमै लाखापाखा लागेका थिए ।
रवि पार्टी सभापति हुन् । सहकारी ठगीका अभियुक्त पनि । उनी बिगो धरौटी बुझाएर रिहा मात्र भएका हुन् । तर पूर्वदेदि पश्चिमसम्म चुनावी रोड शो गरेका रविले जहाँ जहाँ बोले, त्यहाँ अन्य दल र नेताप्रति आक्रोश र घृणा मात्रै देखाए । सम्भावना र विचार कतै प्रस्तुत गरेनन् । जबकि जेनजी आन्दोलनपछिको यो जटिल अवस्थामा कसरी क्राइसिस म्यानेजमेन्ट गर्ने भन्ने जनतालाई भन्नै सकेनन् । मात्र जसरी हुन्छ जे गरेर हुन्छ अन्य दललाई संसदमा देख्न नपरोस् भन्ने ‘बिरालो प्रवृत्ति’ मा रविमा देखियो । यस्ता विचार र कार्यशैलीले भविष्यमा लैजाने भनेको खाडल र भुंग्रोमा मात्र हो । त्यसैले मतदाताले मत हाल्ने बेला फागुन २१ मा ठण्डा दिमागले एकपटक सोच्नै पर्ने हुन्छ ।
अरू कसैले पनि जित्नु हुँदैन । अर्को कुनै पार्टीले एक सिट पनि जित्नु हुँदैन । यसरी संसद् एकलौटी पार्ने सोच आफैमा खतराको घन्टी हो । केही गरी भोलि संसदमा त्यस्तो एकलौटी भएन भने फेरि जनतालाई घुक्र्याउन पाइने भयो तपाईंहरूले एकलौटी जिताउनु भएन, त्यस कारण हामीले सोचेजस्तो काम गर्न सकेनौं । जनतालाई नै थर्काउने सीमासम्म आफ्नो बोलीको बल प्रयोग गर्नु लोकतान्त्रिक होइन । हामीले संसदको निर्वाचन गर्न लागेको हो । संसद भनेकै सत्तापक्ष र प्रतिपक्ष सहकार्य गर्ने थलो हो । सरकारलाई जवाफदेही बनाउने मञ्च हो । त्यस्तो ठाउँमा अरू देख्नै नसक्ने मानसिकता आफैमा एउटा समस्या हो । खासमा त्यो खतराको सूचक हो ।
दुई दुईपटक गृहमन्त्री भइसकेको र सरकारसमेत चलाएका रवि लामिछाने अहिले आफूलाई नयाँ र वैकल्पिक भन्दै जनतालाई भ्रममा पारिरहेका छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनमा आफ्ना सठ नेता र कार्यकर्तालाई घुसपैठ गराएर सिंहदरबार, संसद् र सर्वोच्च अदालत जलाउन उक्साउने रवि आफैं नक्खु कारागार ब्रेकर हुन् । रविकै उक्साहटमा देशभरिका कारागार ब्रेक गरेर करिब १५ हजार कैदीबन्दी निस्किएका थिए । तीमध्ये अझै पाँच हजार बाहिरै छन् । रविसँगै कारागारबाट निस्किएकाले विभिन्न अपराधका घटना घटाइरहेका छन् । कारागार ब्रेक रविको निधारमा लागेको कालो टीका हो ।
आफूलाई नयाँ भन्ने रास्वपाले फागुन २१ गते हुने निर्वाचनमा ५० प्रतिशतभन्दा बढी अन्य दलका नेता कार्यकर्तालाई उम्मेदवार बनाएको छ । जो पुराना दलमा भाग नपाएर अहिले मौका पाइन्छ कि भनेर आएका हुन् । यस्ताबाट देश विकास र सुशासन कायम हुन्छ भन्ने भ्रम दिवास्वप्न मात्र हो । सबैभन्दा गम्भीर र संवेदनशील विषय भनेको रास्वपाले आपराधिक पृष्ठभूमिका व्यक्तिलाई उम्मेदवार बनाउनुले हो । रविले ३३ किलो सुनकाण्डमा मुछिएका बाजेको सेकुवा रेस्टुरेन्टकी सञ्चालक नितिमा भण्डारी, धनञ्जय रेग्मी, सुशील खड्कालाई उम्मेदवार बनाएका छन् । यस्तै, मोरङ १ मा सिंहदरबार जलाउने कृष्ण कार्कीलाई उम्मेदवार बनाएका छन् । यी विषय निकै गम्भीर र संवेदनशील हुन् । त्यही भएर अहिले अधिकांश बुद्धिजीवीदेखि तठस्थ मतदातालाई नेपाली कांग्रेसको पक्षमा उभिएका हुन् ।




