देश

कांग्रेस एकढिक्का भएर चुनावमा, देउवा र खड्काको अपिलले बढायो उत्साह

काठमाडौँ । चुनाव आउन अब मात्र चार दिन बाँकी छ । विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरे पनि कांग्रेसमा सर्वस्वीकार्य नभएको र यसको असर चुनावमा देखिने भन्दै विभिन्न किसिमका शंका, आशंका र विभाजन ल्याउने प्रयास भइरहेका छन् । मिडिया र सामाजिक सञ्जालमा एकांकी ढंगले आउने गरेको यस्तो गसिपबारे कांग्रेस नेतृत्व र पूर्वसंस्थापन पक्षले आधिकारिक रूपमा केही नबोल्दा अन्योलको अवस्था थियो । तर पछिल्लो केही दिनयता कांग्रेसमा देखिएको आशंका सबै दूर हुँदै गएका छन् ।

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको पक्षमा लागेर सबै उम्मेदवारलाई जिताउन निर्देशन दिएको समाचार आएपछि यसले नवीन रक्तसञ्चार गरेको छ । उपचारका लागि आफूलाई भेट्न आउने अधिकांश नेता कार्यकर्तालाई देउवाले निर्वाचनमा रुख चिह्नमा मतदान गर्ने वातावरण बनाएर कांग्रेसका पक्षमा परिणाम ल्याउन स्पष्ट निर्देशन दिएको कांग्रेस पार्टी कार्यालयका निवर्तमान मुख्यसचिव एवं राष्ट्रियसभाका सदस्य कृष्णप्रसाद पौडेलले बताएका छन् ।

‘शेरबहादुर दाइकोमा हरेक दिन नै एक/डेढ सय नेता–कार्यकर्ता आउनुहुन्थ्यो’, पौडेलले भने, ‘उनीहरूलाई तपाईंहरू गाउँ जानुस्, कांग्रेसलाई जिताउन लाग्नुस् भनेर निर्देशन दिइरहनुभएको छ । प्रत्यक्ष भेटमा उहाँले दायाँ–बायाँ नलागी कांग्रेसको पक्षमा परिणाम सुनिश्चित गर्न भन्दै आउनुभएको छ ।’ केही समयअघि देउवाले कांग्रेसबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका कमलबहादुर शाहलाई समेत स्पष्ट निर्देशन दिँदै आफ्नो प्रदेशसहित देशभर कांग्रेसलाई जिताउन सक्रिय भूमिका खेल्न भनेका थिए । तर पनि देउवा भोट माग्न नहिँडेपछि एकांकी ढंगले समाचार आउने गरेका छन् । यो सबै भ्रमलाई चिर्न पौडेलले देउवाले पहिले नै स्पष्ट सन्देश दिएकाले चुनावी मैदानमा त्यसको असर देखिएको छ ।

भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा आफ्नै निवासमा आक्रमण भएपछि नियमित स्वास्थ्य उपचारका लागि देउवा सिंगापुर जाने आउने गरिरहेका छन् । देउवा चिकित्सकको सल्लाहबमोजिम धर्मपत्नी आरजु राणासँगै सिंगापुरमा छन् । उनको उपचार अहिले जारी छ । सम्भवतः उनी फागुन १९ गते स्वदेश फर्किनेछन् ।यस्तै, कांग्रेस निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन र कांग्रेसलाई जिताउन अपिल गरेका छन् । उम्मेदवार मनोनयनको दिन माघ ६ गते आफू यसपटक उम्मेदवार नबन्ने भनेर रुखको टिकट लिएर आएका सबै उम्मेदवारलाई जिताउन आग्रह गरेका खड्काले आइतबार कांग्रेसलाई जिताउन फेरि अपिल गरेपछि कांग्रेसमा उत्साह थपिएको छ ।

कांग्रेसको आधिकारिकता सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएकाले नैतिक रूपमा कुन स्टाटसका आधारमा मत माग्ने भनेर देउवा जस्तै खड्का निवासमै बसेका छन् । ‘फागुन २१ गते प्रतिनिधि सभाको २७५ सिटको लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचन शान्तिपूर्ण र निस्पक्ष सम्पन्न हुनु पर्दछ । फागुन २१ गते बिहान ७ बजेदेखि सुरु हुने मतदानमा कर्णाली प्रदेशलगायत सातै प्रदेशका देशभरिका सबै मतदान केन्द्रमा जानुभइ प्रनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फका दुबै मतपत्रमा हाम्रो पार्टी नेपाली कांग्रेसको ऐतिहासिक चुनाव चिन्ह रुखमा आफ्नो बहुमुल्य मतको स्वस्तिक छापको लालमोहर लगाइ भारी बहुमतका साथ विजयी गराइदिनु हुन हृदयदेखि नै हार्दिक बिनम्र अनुरोध गर्दछु,’ उनको सन्देशमा भनिएको छ ।

टिकट नपाएका पूर्वसभापति देउवासँगै प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, शशांक कोइराला, कृष्णप्रसाद सिटालालगायत चुनावी प्रचारमा हिँडेका छैनन् । तर त्यसको असर भने देखिएको छैन । कांग्रेसमा चुनावी लहर व्यापक देखिएको छ । आफूलाई भेट्न आउने नेता कार्यकर्तालाई उनीहरूले पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गर्ने गरेका छन् ।

कांग्रेसका प्रभावशाली नेता रमेश लेखक झन्डै एक महिनादेखि कञ्चनपुरमै छन् । उनले शनिबार मात्र प्रचार र्यालीको नेतृत्व गरेका थिए । कांग्रेसको जुलुस विगतको भन्दा पनि झन् ठूलो देखिएको चर्चा छ । लेखकको कञ्चनपुरमा बलियो पकड छ । उनले लगातार चौथोपटक सांसदको चुनाव जितेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *