देश

निर्वाचन नजिक होली पर्व : सरकार, सुरक्षा निकाय र नागरिक सचेत हुन आवश्यक

काठमाडौं । देशमा निर्वाचन नजिकिँदै गर्दा होली पर्व पनि सँगसँगै आइपुगेको छ। रंग र उत्साहको यो पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ। तर पछिल्ला घटनाक्रम र राजनीतिक वातावरणलाई हेर्दा यस वर्ष होली थप संवेदनशील बनेको देखिन्छ । होलीका लागि सरकारले विदा समेत दिएको छ । यस्तै निर्वाचनका लागि पनि सरकारले तीन दिन विदा दिइसकेको छ । सोही विदाका कारण पनि विभिन्न समुहका मानिसहरु भिडमा पुग्ने आंकलन गरिएको छ । भोेली फागु पुर्णिमा हो । विशेषगरी पहाडी जिल्लामा भोली भागु मनाइन्छ भने तराईका जिल्लामा पर्सी होली मनाइन्छ ।

गत २०८२ भदौ २३ र २४ मा भएका विध्वंसकारी आन्दोलन, त्यसको अनुसन्धान र त्यसबारे चलिरहेको बहसले नागरिक मनोविज्ञानमा गहिरो प्रभाव पारेको छ। सरकारप्रतिको आक्रोश, पुराना लोकतान्त्रिक दल र वैकल्पिक शक्तिहरूबीचको आरोप–प्रत्यारोप, तथा ‘जेनजी’को नाममा भीड प्रयोग गरी चुनाव विथोल्ने सम्भावित आन्तरिक रणनीतिबारे चर्चा भइरहेका छन्। यस्तो अवस्थामा कुनै पनि सानो घटना ठूलो अस्थिरतामा रूपान्तरण हुन सक्ने जोखिम रहन्छ।विशेषगरी होलीका दिन युवाहरूको जमघट र आवेगका कारण अवाञ्छित गतिविधि हुन सक्ने आशंका पनि व्यक्त भइरहेको छ। सामाजिक सञ्जालमार्फत उत्तेजनात्मक सन्देश फैलिन सक्ने भएकाले थप सतर्कता आवश्यक देखिन्छ। होलीको बहानामा आक्रमण, तोडफोड वा राजनीतिक रंग दिने प्रयास भएमा त्यसले निर्वाचनको वातावरण प्रभावित पार्न सक्छ।

यस्तो संवेदनशील घडीमा सरकारले समयमै सचेतना अपनाउन र स्पष्ट सार्वजनिक अपिल जारी गर्न जरुरी छ। नागरिकलाई शान्तिपूर्ण रूपमा पर्व मनाउन र लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन आह्वान गरिनुपर्छ। निर्वाचन सफल पार्न सबै राजनीतिक दल, नागरिक समाज, युवा वर्ग र आम मतदाताले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेछ। सुरक्षाका तीनवटै निकाय—नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी—साथै निर्वाचनमा खटिने सुरक्षाकर्मीहरूले संयम, पेशागत दक्षता र निष्पक्षताका साथ सुरक्षाको प्रत्याभूति दिनुपर्छ। सुरक्षा उपस्थिति कडा मात्र होइन, नागरिकमैत्री र विश्वासिलो हुन आवश्यक छ, ताकि जनताले भयमुक्त वातावरणमा मतदान गर्न सकून्।

होली हाम्रो सांस्कृतिक पर्व हो, चुनाव हाम्रो लोकतान्त्रिक दायित्व। यी दुवैलाई सम्मान गर्दै सभ्य, भव्य र औपचारिक मूल्य–मान्यताभित्र रही पर्व मनाउनु आजको आवश्यकता हो। जिम्मेवार नागरिकता र समन्वित प्रयासले मात्रै रंगीन उत्सव र लोकतान्त्रिक अभ्यास दुबै सफल र सुरक्षित बनाउन सकिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *