राजनीति

कांग्रेसलाई भोट किन ?

नेपाली कांग्रेसले मुलुकमा पहिलोपटक प्रजातन्त्रको उदय गराउनेदेखि संविधान सभाबाट नयाँ संविधान जारी गराई आजको दिनसम्म आउँदा देश र जनताको स्वतन्त्रताको लागि ठूलो बलिदानी दिएको छ । अनवरत रूपमा कांग्रेसले गरेको यही संघर्षको परिणाम आज सबैले कांग्रेसलाई गाली गर्ने अवसर पाएका छन् ।

यस्तो परिवेशमा यही फागुन २१ गते मुलुकमा आमनिर्वाचन हुँदैछ । निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत विशेषगरी रवि लामिछाने र वालेन्द्र साह बालेन कांग्रेसप्रति निकै आक्रामक देखिन्छन् । खासमा भन्नुपर्दा लामिछाने अघिल्लो निर्वाचनमै उम्मेदवार बन्न पाउने व्यक्ति होइनन् ।

यस निर्वाचनमा पनि उम्मेदवार बनेका लामिछानेले चुनाव जितिहाले भने पनि सांसद बन्न पाउने छैनन् । किनकि उनीविरुद्ध देशका विभिन्न अदालतहरूमा दोहोरो नागरिकता, सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दाहरू विचाराधीन छन् ।

बालेन काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर हुन् । उनी मेयर पदमा रहँदा निकै विवादास्पद छवि बनाएका व्यक्ति हुन् । उनकी श्रीमती सवार गाडीमा सुरक्षाकर्मीले चेकजाँच गर्दा सिंहदरबार जलाइदिन्छु भन्ने अभिव्यक्ति दिएका उनले अन्ततः सिंहदरबार जलाउन महत्वपूर्ण भूमिका खेलेको आरोप छ ।

स्मरण रहोस्, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार जलाउने अभिव्यक्ति दिएको भन्दै बालेनलाई पक्राउ गर्नुपर्ने प्रस्ताव राख्दा तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाले अभिव्यक्ति स्वतन्त्रताको कुरा उठाई बालेनलाई पक्राउ गर्न नहुने अडान राखेपछि उनी पक्राउ पर्नबाट बचेका थिए ।

आज उनैलाई कांग्रेस अप्रिय लागेको छ । ३५ वर्षसम्म के हेरेर बसेको भन्दै कांग्रेसप्रति औंला उठाउने रवि र बालेनले यो अवधिमा कांग्रेस मात्रै देशको निर्णायक शक्ति थियो कि थिएन वा देश कस्तो अवस्थामा गुज्रिरहेको थियो भन्ने कुरा थाहा पाउन एकपटक इतिहास पढुन् ।

नेपालको पहिलो आमनिर्वाचन २०१५ सालमा नेपाली कांग्रेसले दुईतिहाई बहुमत ल्याई बीपी कोइराला देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । देश तथा विदेशको राजनीति, कुटनीति, कानून, विकास तथा जनताको भावना बुझेका बीपी देशको द्रुत विकासमा अगाडि बढिरहँदा महेन्द्रलाई छटपटी भई बीपी सरकार, दलीय व्यवस्थासहित प्रजातन्त्र अपदस्थ गरियो ।

बहुदलीय प्रजातन्त्र प्राप्तिका लागि कांग्रेसले फेरि ३० वर्ष संघर्ष गर्नुपर्यो । ०४७ सालको परिवर्तनपछि कांग्रेसले देशको विकासलाई गति दिने गरी आफ्ना नीति तथा कार्यक्रमहरू सार्वजनिक गर्यो, पुँजीवादी खुला अर्थतन्त्रको माध्यमबाट समाजवादमा पुग्ने अठोट लियो ।

एमालेले महिनौँसम्म संसद अवरुद्ध गर्ने, सडक बन्द गर्नेजस्ता संसदीय मर्यादाभन्दा बाहिरका कामहरू गर्न थाल्यो । फलस्वरुपः सार्वभौम संसदले आफ्नो काम गर्न पाएन । अर्कोतर्फ २०५२ सालदेखि नेकपा माओवादीले सशस्त्र युद्धको शुरूआत गरी १० वर्षसम्म देशमा निर्माण भइरहेका र निर्माणाधीन भौतिक संरचनाहरू ध्वस्त पार्ने, आफ्ना विरोधी तथा कांग्रेस समर्थित नेता, कार्यकर्ता, शिक्षक लगायतलाई भौतिक आक्रमण गर्ने लगायतका निन्दनीय कार्यहरू गरेबाट मुलुकको विकास ठप्प हुन गयो ।

अर्कोतर्फ दरबार हत्याकाण्ड र ज्ञानेन्द्र शाहको निरंकुशताले देश अनि कांग्रेस निकै कठिन मोडमा पुग्यो । जब तत्कालीन नेकपा माओवादी शान्तिपूर्ण मूलधारको राजनीतिमा अवतरण भइ २०६४ सालमा पहिलो संविधान सभा निर्वाचन भयो, उक्त निर्वाचनमा झण्डै एकल बहुमत प्राप्त गरेको माओवादीले देश र जनताको हितमा के गर्यो ? संविधान सभा आफ्नो एजेन्डा बताउने माओवादीले देशलाई सिंगापुर बनाउँछु भन्यो, दुर्भाग्य उसकै नेतृत्वमा पहिलो संविधानसभा भंग भयो ।

२०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्यो । तत्कालीन कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारले संविधान सभाबाट नयाँ संविधान जारी गरायो । नयाँ संविधान जारी भएपछिको पहिलो आमनिर्वाचन २०७४ मा एमाले, माओवादी लगायतका दलहरूले वामपन्थी गठबन्धन गरेर झण्डै दुईतिहाईको सरकार बनाए । त्यो सरकारले के गर्यो ? देश र जनताको हितमा केही पनि गर्न सकेन । संसद विघटन भयो ।

०७९ सालमा सम्पन्न आमनिर्वाचनमा कांग्रेस पहिलो पार्टी भयो । तर सरकारको नेतृत्व गर्न पाएन । पछिल्लो समय गत भदौ २३ गतेको जेन–जी आन्दोलन र २४ गतेको विध्वंश हुँदा केपी ओली नेतृत्वको सरकार थियो, जुन सरकारमा कांग्रेस पनि सहभागी भएको थियो ।

कांग्रेसले शान्तिपूर्ण आन्दोलनमा दमन गर्नु हुँदैन, अहिले हामीप्रति जनतामा वितृष्णा बढिरहेको छ, जनभावनाको कदर हुने गरी हामीले काम गर्नुपर्छ, नभए जनताले हामीलाई छोड्ने छैनन् भनेर निरन्तर खबरदारी गरिरहेको थियो । तर ओलीको हठले गर्दा मुलुकको राजनीति नै विपरीत धारमा पुग्यो । फेरि सरकार र संसद विघटन भयो । यी सबै हर्कतहरूको दोष कांग्रेसले मात्रै बोक्नुपर्ने हो ?

अहिले विपक्षी सबै दलहरूले मुलुकको विकास नहुनुमा कांग्रेस दोषी हो भन्ने भाष्य निर्माण गरिरहेका छन् । के यो सत्य हो ? होइन किनकि कांग्रेसलाई अवरोध गर्ने अतिवादी शक्तिहरू राणा, राजा, पञ्च, एमाले, माओवादी देश नबन्नुका प्रमुख कारक हुन् । यसको जिम्मेवार कांग्रेस बन्न सक्दैन । तर कांग्रेसबाट विगतमा केही कमजोरी भएकै हो, त्यसलाई अहिलेको कांग्रेसले स्वीकार गरेको छ । अब गल्ती हुन नदिने प्रण गरेको छ ।

त्यसैले कांग्रेस मात्रैले देश सञ्चालन गर्न पाउने गरी आम सर्वसाधारण नेपाली नागरिकले निर्वाचनमा कांग्रेसलाई बहुमत दिनु आवश्यक छ । कांग्रेसको एकल सरकार निर्माण भई पाँच वर्षसम्म सरकार सञ्चालन गर्दा पनि देश र जनताको चाहनाअनुसार मुलुक अगाडि बढ्न सकेन भने त्यसपछि मात्रै जनताले अर्को विकल्प खोज्ने हो । अहिलेको अराजक भीडलाई विकल्प ठानियो भने दुर्भाग्य हुन्छ ।

ओली सरकारमा हुँदा उखान टुक्का र थिचोमिचो मात्रै भयो । प्रचण्ड सरकारमा हुँदा भावुकता, उद्दण्डता र परिवारवादले प्रश्रय पायो । रवि सरकारमा हुँदा आफू विरुद्धका प्रमाण लुकाउने, सञ्चारमाध्यमलाई धम्की दिने, अरुलाई अनावश्यक लाञ्छना लगाउने अनि कर्मचारीतन्त्रलाई तर्साउने काम भयो । त्यस्तै बालेन महानगरको सत्तामा हुँदा नगरसभाको बैठक नबस्ने, सर्वसाधारणको पहुँचमा नहुने, तत्कालीन महानगर प्रहरी प्रमुख राजु पाण्डेको अत्याचारको ढाकछोप गर्ने, करोडौँ रुपैयाँ बेरुजु देखिने, अदालतको आदेशको अवज्ञा गर्ने, कार्यालयमा जडान गरिएको लिफ्टमा आफ्नो व्यक्तिगत पासवर्ड प्रयोग गर्ने, सिंहदरबार जलाउँछु भन्ने अनि जलाउने जस्ता कार्यहरू भए ।

के यी सबै बेथितिहरूको जिम्मा कांग्रेसले लिनुपर्ने हो ? होइन, कांग्रेस सत्तामा हुँदा बिर्ता उन्मुलन, पूँजीवादी खुला अर्थतन्त्र, बहुदलीय व्यवस्था, संसदीय व्यवस्था, युद्धरत पक्षलाई शान्तिपूर्ण मूलधारको राजनीतिमा अवतरण, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र संघीयताको स्थापना, संविधानसभाबाट नयाँ संविधान, आवधिक निर्वाचनका लागि संघर्ष लगायतका महत्वपूर्ण कार्यहरू भएको छ ।

कांग्रेस अहिले बदलिएको छ र देश बदल्न चाहन्छ । युवाको नेतृत्वमा अगाडि आएको कांग्रेससँग देश बनाउने स्पष्ट खाका छ, सयौं नयाँ अनुहार उम्मेदवार बनी निर्वाचनमा होमिएका छन्, टिकट वितरण पारदर्शी छ, पार्टीभित्र कसैलाई काखापाखा गरिएको छैन । भोलिका दिनमा अझ धेरै नवीनतम स्वरुप सहित कांग्रेस अगाडि बढ्दैछ । यसर्थ, कांग्रेसप्रति कसैले शंका नगर्दा हुन्छ । किनकि अब पनि कांग्रेसले देश बदल्ने आँट गरेर भने उसको इतिहास समाप्त हुन्छ । यो कुरा कांग्रेसको वर्तमान नेतृत्वलाई राम्रोसँग थाहा छ ।

कांग्रेस सभापति गगनकुमार थापा यसअघिका कांग्रेस सभापतित्रय गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासँग सँगै काम अनि संघर्ष गर्दै आएका खारिएका युवा नेता हुन् । उनको देश बनाउने एउटा ठूलो सपना छ, नीति तथा कार्यक्रम छ, कांग्रेस पार्टीको आफ्नै आदर्श, सिद्धान्त, योगदान र गौरवमय इतिहास साक्षी छ । कांग्रेस सभापति सहितका पदाधिकारीहरू जुनसुकै बेला पनि सार्वजनिक बहसका लागि तयार छन्, आ–आफ्नो तर्फबाट कामको फेहरिस्त जनतावीच ल्याएका छन् । फलस्वरुपः अहिले मुलुक कांग्रेसमय भएको छ । कांग्रेस रहेमात्रै देश रहन्छ, लोकतन्त्र अनि नागरिक स्वतन्त्रता रहन्छ भन्ने तथ्य स्थापित हुँदैछ ।

राजनीतिमा नीति, योगदान, धैर्यता र इमानदारी महत्वपूर्ण मानिन्छ । मुलुक कसैले बनाइहाल्छ कि भन्ने अनुमानका आधारमा होईन, देश बनाउन कुन व्यक्ति वा पार्टीले कहिलेदेखि कस्तो भूमिका निर्वाह गरिरहेको छ भन्ने आधारमा मतदान गर्नुपर्दछ । नेपालमा आजसम्म सम्पन्न भएका सबै निर्वाचनबाट गठित संसदले आफ्नो पूरा कार्यकाल काम गर्न पाएको छैन । देश र जनताको विकासप्रति उत्तरदायी हुनुपर्ने संसदलाई जहिले पनि केही चाटुकारहरूले आफ्नो नाटक मञ्चनको अखडा बनाइरहने प्रयत्न गरिरहेका छन् ।

हाम्रो संसदभित्र हात हालाहाल गर्ने, बजेट खोस्ने, कपडा खोल्ने, प्राण त्याग गर्ने धम्की दिने, मदिरापान गरेर अनावश्यक बोल्ने, निदाउने, सरकार गठन र विघठनका लागि अप्राकृतिक गठबन्धन गर्ने, संसदको मर्यादा कायम नराख्ने, उत्तेजना र आवेगमा संसद विघटन गर्ने लगायतका अशोभनीय कार्यहरू भइरहेका छन् ।

यस्ता कार्यहरूमा कुन पार्टी वा कुन संसद बढी जिम्मेवार छन् र यस्ता घटना कुन पार्टीलाई मतदान गर्दा निस्तेज हुन्छन् भन्ने बिषयमा पनि मतदाता सचेत भई एक जिम्मेवार पार्टी नेपाली कांग्रेसलाई नै बहुमत दिलाउनु पर्ने आवश्यकता देखिन्छ ।

अहिले रविलाई कांग्रेसले त्यसमा पनि गगन थापाले जेल हालेको वा मुद्दा चलाएको भन्ने भाष्य निर्माण गरिएको छ । कोही कसैलाई कांग्रेसले मुद्दा चलाउने होइन र विचाराधीन मुद्दामा कांग्रेसले प्रमाण पेश गर्ने पनि होइन । मुद्दा कानुन बमोजिम चल्छ अनि मुद्दामा प्रमाणको आधारमा दोषी ठहर हुने वा सफाइ पाउने हुन्छ । कसूरमा मेरो संलग्नता छैन, मलाई फसाउन मुद्दा लगाइयो भन्नेले मेरो भागमा परेको तिर्नुपर्ने रकम म तिर्न बुझाउन तयार छु, मलाई कैदमुक्त गरिदिनु भन्दै करोडौँ रुपैयाँ तिर्न तयार भइ सम्मानित अदालतमा निवेदन पेश गरेपछि कसूरमा संलग्न रहेको देखिने त्यो भन्दा ठूलो प्रमाण अरु के हुनसक्छ ? त्यस्तै आफू उपर लागेको विचाराधीन मुद्दामा अन्तिम सुनुवाई नहुँदासम्म म निर्दोष छु भन्दै आफैंले निर्दोषिता प्रमाणित गर्ने होइन ।

यद्यपि देशका विभिन्न अदालतमा गम्भीर खालका मुद्दा चलिरहेको व्यक्तिले भाषण गर्दै हिँड्दा जनताले ताली पिटिरहेको दृश्यले कानूनको धज्जी उडाइरहेको छ । यतिमात्रै होइन, पुरानाले खाए, अब यिनीहरूले खाउन् भनेर यिनलाई जिताउन लागेका हौँ भन्ने जनआवाज सुन्दा यो मुलुकमा अस्थिरता कायम भइरहनुमा हामी नागरिक पनि जिम्मेवार हौँ भन्ने लाग्छ । किनकि सबैले नसक्लान् तर अधिकांश जनताले ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न सक्छौँ ।

अर्कोतर्फ अझै पनि लामिछाने कांग्रेसले आफूलाई मुद्दा लगाएको र त्यसको प्रमाण गगन थापाले दिनुपर्ने बताउँदै हिँडिरहेका छन् । मुलुकमा कानून छ भन्ने कुराको हेक्का राखौँ । कांग्रेसले चाहेर मुद्दा लाग्ने वा नलाग्ने भए कांग्रेसकै नेताहरू विरुद्ध किन मुद्दा लाग्यो ? यति सामान्य कुरा हामी सबैले बुझ्नुपर्ने हुन्छ । रविको मुद्दामा गगन थापाले प्रमाण पेश गर्ने होइन ।

अभियोजन पक्षले पेश गरेको प्रमाणका आधारमा उनलाई जेलमा पठाइएको हो । पछि ठहरे बमोजिम हुने नै हुँदा हाललाई उनी निर्दोष छन् भनी मान्न सकिएन भन्ने वाक्यांश सम्मानित अदालतले प्रमाणका आधारमा बोलेको हो र उनलाई साधारण तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्न इन्कार गरिएको हो ।

विभिन्न ठाउँमा गरी अर्बौंं बिगो भएको मुद्दामा उनलाई करोडौँ रुपैयाँ धरौटी मागिएको हो । विशेषगरी सहकारी ठगीमा जीबी राईको संलग्नता रहेको र उनलाई आफू गृहमन्त्री भएको भोलिपल्टै पक्राउ गर्छु भनेका रविले उनलाई पक्राउ गरे ? यस्ता गलत र भ्रमपूर्ण तथ्यको पछाडि लागि एउटा संघर्षमय इतिहास बोकेको पार्टी कांग्रेसका विरुद्धमा उत्रनु कोही कसैको लागि पनि शोभनीय कार्य होइन । राजनीति वा निर्वाचनलाई एउटा मित्रतापूर्ण प्रतिस्पर्धा गर्ने माध्यमको रुपमा मात्रै लिनुपर्दछ ।

माओवादीले युद्धकालमा कांग्रेसीजन छानिछानी काटेको हो । कांग्रेस हुँ भन्न नसकिने बनाएकै हो । यसको त प्रमाण पेश गर्नुपर्दैन होला । तर त्यही कांग्रेसले युद्धमा रहेको माओवादीलाई शान्तिपूर्ण मूलधारको राजनीतिमा ल्याई कांग्रेसी मतदातालाई माओवादीका उम्मेदवार जिताउन भोट हाल्न लगाएको पनि हो । किनकि कांग्रेसले सहमति, सहकार्य र एकताको माध्यमबाट मात्रै देश समृद्ध बन्छ भन्नेमा विश्वास राख्दछ ।

कांग्रेसले कोही कसैसँग शत्रुतापूर्ण व्यवहार गर्दैन, प्रतिशोधको राजनीति गर्दैन, व्यक्तिगत गालीगलौजमा विश्वास राख्दैन । यही स्वभाव भएर कांग्रेस देश र जनताको प्रिय पार्टी भएको हो, अब पनि कांग्रेस देश अनि जनताकै हितमा अडिग रहन्छ, जनताकै दुःखसुखको साथी बन्छ ।

कांग्रेस पार्टी कुनै खहरे खोला होइन, महासागर हो । कांग्रेसले कहिल्यैपनि व्यक्तिगत लाभहानिलाई केन्द्रविन्दुमा राखेको छैन, राख्दैन । २०५२ सालतिर माओवादी हुने र २०७९ सालमा रास्वपा हुने धेरै व्यक्तिहरूको पृष्ठभूमि कांग्रेसी छ । उनीहरूले पनि विगतमा आफू कांग्रेसकै नर्सरीमा हुर्किएको यथार्थता भुल्नु हुँदैन ।

पाँच वर्ष महानगर चलाउने जनमत लिएका व्यक्ति अहिले देशको कार्यकारी प्रधानमन्त्री बन्ने दौडमा छन् । जति समयसम्म महानगरको नेतृत्वमा बसे, के उनले देशकै प्रधानमन्त्री बन्न सक्ने गरी काम गरे ? कुनैपनि देशको प्रधानमन्त्री बन्न परिपक्वता सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, कुटनीति, अर्थनीति, सुरक्षा नीति, अन्तरदलीय सम्बन्ध लगायतका पक्षहरूको निकै महत्वपूर्ण भूमिका हुने गर्दछ । के यी सबै विषयमा बालेन सक्षम छन् ? अनि व्यक्तिगत तथा दलगत प्रतिशोध साँधेर देश बनाउन सकिन्छ ?

प्रधानमन्त्री बन्छु भन्दै हिँडेको एउटा व्यक्ति जनताप्रति उत्तरदायी हुनुपर्छ कि पर्दैन ? प्रधानमन्त्री भएर आफूले गर्ने कामको विषयमा सार्वजनिक रुपमा बहस गर्न तयार हुनुपर्ने हो कि होइन ? त्यस्तो व्यक्ति मुलुकको नेतृत्वमा पुग्दा यो देशको अवस्था कस्तो रहला भन्ने विषयमा आम मतदाताहरू गम्भीर हुनुपर्ने बेला आएको छ ।

कैद जीवन व्यतित गरिरहेको व्यक्ति प्रधानमन्त्री बन्ने होडमा जेलबाट भाग्ने, एउटा पालिका प्रमुख भएको व्यक्ति प्रधानमन्त्री बनाइदेउ भन्दै हारगुहार गर्ने, आफूलाई प्राप्त जिम्मेवारी बहन गर्न नसक्ने, संविधानको व्यवस्था विपरीत हुने गरी संसद विघटन हुने, संसद सदस्य नभएको व्यक्ति प्रधानमन्त्री बन्न सक्ने छैन भन्ने स्पष्ट संवैधानिक व्यवस्था विपरीत प्रधानमन्त्री नियुक्त हुने, दुई चार सय व्यक्तिले गरेको आन्दोलनका कारण सरकार परिवर्तन हुने, शासन व्यवस्था परिवर्तन हुन सक्ने, संविधानमाथि प्रश्न उठ्ने, देश जल्ने जस्ता घटनाहरूको सामना गरिरहनुपर्ने अवस्थाबाट मुलुकलाई अब मुक्त गरिनुपर्दछ । पाँच वर्ष महानगर चलाउने जिम्मेवारी पाएको व्यक्तिले उक्त जिम्मेवारी पूरा नगरी संसदीय यात्रामा अगाडि बढ्नु आफैंमा शोभनीय काम होइन । पहिलो जिम्मेवारी नै पूरा गर्न नसक्ने व्यक्तिले देशको कार्यकारी प्रमुखको जिम्मेवारी पूरा गर्न सक्छ भनी कल्पना पनि गर्न सकिँदैन ।

अन्त्यमा अराजक व्यक्ति वा समूहबाट यो मुलुक जोगाउनु पर्दछ । संविधान अनुरुप संसदीय शासन व्यवस्थाको मर्म अनुसार देश अगाडि बढ्नुपर्छ । कांग्रेसको तर्फबाट प्रधानमन्त्री समेतको उम्मेदवार घोषणा गरी निर्वाचनमा होमिएका सभापति थापासहित देशभरबाटै कांग्रेसका उम्मेदवारले चुनाव जित्नुपर्छ । महामानव बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको जगमा बसेर कांग्रेसले अब देश निर्माणको अभिभारा सम्हाल्नुपर्दछ ।

त्यसका लागि कांग्रेससँग अनुभव, सिद्धान्त, योगदान र इतिहास भरिपूर्ण रहेको छ । त्यसको नैतिक, व्यवहारिक तथा भरोसा योग्य आधार कांग्रेस पार्टीसँग बाहेक अरुसँग छैन । त्यसैले अहिलेको सबैभन्दा बढी उपयुक्त अनि आवश्यक पार्टी नेपाली कांग्रेस नै हो । जसले नागरिक स्वतन्त्रता, विधीको शासन, बहुदलीय व्यवस्था, लोकतन्त्र जस्ता मूल्य र मान्यताका लागि अनवरत रुपमा संघर्ष गर्दै आईरहेको छ, गरिरहनेछ । (लेखक कानून व्यवसायी हुन्)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *