देश

निर्वाचनको मुखमैँ दल अदलबदलमा राजनीतिक दल

काठमाडौं । फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा सुदूरपश्चिमको राजनीतिक दृश्य अस्थिर र चलायमान बनेको छ। मतदान हुन एक साता मात्रै बाँकी रहँदा नेताहरूको दल परिवर्तन, बागी उम्मेदवारी र अप्रत्याशित प्रवेश–निर्गमनले चुनावी समीकरण फेरिँदै गएको छ।

कैलाली–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रभावशाली नेता ईश्वर (ईश्वरी) विष्टले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन्। २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट उल्लेख्य मत ल्याएका विष्ट यसपटक टिकट वितरणमा असन्तुष्टि जनाउँदै अलगिएका हुन्। उनले पार्टीभित्र नातावाद र आर्थिक प्रभाव हाबी भएको आरोप लगाउँदै “आदर्श र विधि बिर्सिएको” टिप्पणी गरेका छन्। रास्वपाले उक्त क्षेत्रमा आनन्दबहादुर चन्दलाई उम्मेदवार बनाएपछि विष्टले स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन्।

त्यही क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार जगन्नाथ चौधरी भने मतदान हुनुअघि नै रास्वपामा प्रवेश गरेका छन्। कानुनी रूपमा मतपत्रमा उनको चुनाव चिह्न यथावत् रहने भए पनि व्यवहारमा उनी अहिले रास्वपाका उम्मेदवारको पक्षमा प्रचारमा सक्रिय छन्।
नाउपाभित्रको आन्तरिक विवाद—विशेषतः रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको शक्ति संघर्ष—लाई उनको निर्णयको पृष्ठभूमि मानिएको छ। पार्टी विभाजनको असर सिधै चुनावी मैदानमा देखिएको विश्लेषण भइरहेको छ।

बैतडीमा नेपाली कांग्रेसका प्रदेश कमिटी सदस्य जनक विष्टले सार्वजनिक रूपमा पार्टी त्याग्दै नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को मञ्च रोजेका छन्। उनले नेतृत्वप्रति असन्तुष्टि र ‘जेन–जी आन्दोलन’ पछिको आन्तरिक व्यवस्थापनप्रति प्रश्न उठाएका छन्। स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार अन्तिम समयमा दल परिवर्तन हुनुका तीन प्रमुख कारण देखिन्छन्—टिकट वितरणप्रतिको असन्तुष्टि ,जित्ने सम्भावना भएको पक्षतर्फ आकर्षण, भविष्यका राजनीतिक अवसरको लेनदेन, विश्लेषक धर्मानन्द भट्टका अनुसार “जसको जित्ने सम्भावना बढी देखिन्छ, अवसरवादी नेताहरू त्यतै लाग्छन्।” उनका अनुसार दलभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदा बागी उम्मेदवारी वा पार्टी परित्यागको प्रवृत्ति दोहोरिन्छ।

निर्वाचनको ठीक अघिल्लो साता देखिएको यो दल अदलबदलले राजनीतिक स्थिरता र वैचारिक प्रतिबद्धतामाथि प्रश्न उठाएको छ। वर्षौँ एउटै झन्डा बोकेका नेताहरू रातारात अर्को दलमा देखिनु केवल रणनीति हो कि व्यक्तिगत इगो र स्वार्थको परिणाम? मतदानको दिन नजिकिँदै जाँदा सुदूरपश्चिम मात्र होइन, देशभर यही प्रश्न गुञ्जिरहेको छ—नेताहरू दल बदल्छन्, तर मतदाताको भरोसा कता सर्छ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *