देश

कांग्रेस सशक्त र एकढिक्का छ, बहुमत सुनिश्चित हुन्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधी ले पार्टीभित्र हाल कुनै गम्भीर मतभेद नरहेको दाबी गरेका छन्। उनले संगठनात्मक एकता बलियो बन्दै गएको र आगामी निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याउने विश्वास व्यक्त गरे।

धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका निधीले पार्टीमा देखिएको नयाँ ऊर्जा र नेतृत्वको सक्रियताले सकारात्मक सन्देश दिएको बताए। जनकपुरमा फागुन ६ गते आयोजित आमसभालाई उल्लेख गर्दै उनले त्यसले कांग्रेसप्रति जनविश्वास बढेको संकेत गरेको टिप्पणी गरे।

निधीका अनुसार पार्टी सभापति गगनकुमार थापा को नेतृत्वमा कांग्रेसले नयाँ दिशा लिएको छ। “हामी बदलियौँ, देश बदल्छौँ” भन्ने सन्देशले युवा पुस्तामा उत्साह थपेको र त्यसको प्रभाव देशभर देखिएको उनको भनाइ छ।

उनले उम्मेदवार चयन प्रक्रिया व्यवस्थित र सन्तुलित ढंगले भएको दाबी गर्दै देशको समसामयिक राजनीतिक अवस्थाबारे जनताले गरेको मूल्याङ्कन कांग्रेसका पक्षमा रहेको बताए। “यी आधारहरूले कांग्रेस बहुमततर्फ उन्मुख छ,” निधीले भने, “बहुमतको सरकार कांग्रेसकै नेतृत्वमा बन्छ भन्नेमा म विश्वस्त छु।”

पार्टीभित्र देखिएका बाँकी असन्तुष्टिहरूलाई मिलाएर अघि बढ्ने प्रयास भइरहेको उनले स्पष्ट पारे। आन्तरिक मतभेद समाधानमा आफूले पनि पहल गरिरहेको र त्यसमा सकारात्मक उपलब्धि मिलिरहेको निधीको दाबी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *