देश

मन्त्रिपरिषद्का २५ निर्णय सार्वजनिकः चुनाव लक्षित बिदादेखि बुढीगण्डकीसम्म

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका २५ वटा निर्णय सार्वजनिक गरेको छ। निर्णय सार्वजनिक गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन केन्द्रित व्यवस्था र दीर्घकालीन विकास आयोजनालाई प्राथमिकता दिइएको जानकारी दिएका हुन्।

चुनावका लागि तीन दिन सार्वजनिक बिदा

सरकारले फागुन २०, २१ र २२ गते (तीन दिन)सार्वजनिक बिदा दिने निर्णय गरेको छ। निर्वाचन प्रक्रियालाई सहज बनाउन यो निर्णय गरिएको बताइएको छ। निर्वाचन अवधिमा घाइते हुने सुरक्षाकर्मी तथा निर्वाचन सुरक्षामा खटिएका प्रहरीको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय पनि गरिएको छ। सोही अवधिमा मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था समेत स्वीकृत गरिएको छ।

१६औँ योजना कार्यान्वयनको खाका स्वीकृत

बैठकले १६औँ योजनाको कार्यान्वयन कार्ययोजना (२०८१/८२–२०८५/८६) स्वीकृत गरेको छ। दीर्घकालीन विकास लक्ष्य कार्यान्वयनलाई तीव्रता दिन यो कार्ययोजना ल्याइएको जनाइएको छ।

ऊर्जा क्षेत्रमा ठूला निर्णय

मन्त्रिपरिषद्ले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गरेको छ। साथै, केरावारी ९न्यू मर्स्याङ्दी०, माथिल्लो जुनवेशीखोला र सेती खोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र आवश्यक रुख कटान गर्न स्वीकृति प्रदान गरिएको छ।

जेनजी परिषद् गठन

बैठकले ‘जेनजी परिषद्’ गठन गर्ने निर्णयसमेत गरेको छ। परिषद्को उद्देश्य र कार्यक्षेत्रबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।सरकारका यी निर्णयहरू चुनाव व्यवस्थापनदेखि पूर्वाधार र ऊर्जा विकाससम्म फैलिएका छन्। अब कार्यान्वयन चरण कत्तिको प्रभावकारी हुन्छ भन्नेमा नै निर्णयहरूको परिणाम निर्भर रहनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *