काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र त्यसका सभापति रवि लामिछानेमाथि कडा टिप्पणी गरेका छन्। चालिसेले रास्वपाले सुशासन र स्वच्छ राजनीतिको भाषण गर्दैगर्दा आफूमाथि लागेका ठगी र भ्रष्टाचारका आरोपबारे स्पष्टता नदिनु “दिउँसै रात पार्न खोज्नु” सरह भएको बताएका हुन्।
उनका अनुसार राजनीतिमा ‘क्यामोफ्लाज’ भनेको वास्तविक स्वार्थ, उद्देश्य र चरित्रलाई लुकाएर जनतासामु आकर्षक अनुहार प्रस्तुत गर्ने रणनीति हो। सैनिक क्षेत्रमा प्रयोग हुने छलावरणसँग तुलना गर्दै उनले भने, “जङ्गलमा हरियो पोसाक लगाएर शत्रुको नजरबाट लुकिएझैँ राजनीतिमा पनि असली मुहार लुकाएर नयाँ रङ पोत्ने प्रयास भइरहेको छ।”
चालिसेले पछिल्लो समय ‘नयाँ’ भनेर प्रस्तुत गरिएका केही दल र नेताहरू यस किसिमको राजनीतिक कलामा पोख्त देखिएको आरोप लगाए। स्पष्ट देखिएका आरोपहरूको “ठूलो पोको बोकेर” पनि नैतिकता र पारदर्शिताको भाषण गर्नु विरोधाभासपूर्ण भएको उनको भनाइ छ।
उनले थपे, “झूट बोल्न सजिलो हुन सक्छ, तर झूट पत्याएकाहरूलाई सत्य बुझाउन गाह्रो हुन्छ।”
प्रवक्ता चालिसेको भनाइमा यस्तो प्रवृत्तिले जनताको विश्वास कमजोर बनाउने मात्र होइन, देशको राजनीतिक भविष्य नै अन्योलतर्फ धकेल्ने जोखिम रहेको संकेत गरिएको छ। रास्वपामाथि केन्द्रित यो टिप्पणीले फेरि एकपटक नेपाली राजनीतिमा ‘नयाँ बनाम पुराना’ दलबीचको आरोप–प्रत्यारोपलाई सतहमा ल्याएको छ। अब प्रश्न उठेको छ—जनताले भाषण पत्याउने कि व्यवहारको हिसाब माग्नेरु




